ऐतिहासिक साँखुमा विकासको तीव्र गति: ३ करोडको शालिनदी टट नियन्त्रण, माधव नारायण मन्दिरमा सुनको गजुर चढाइँदै

lawanyasandesh.com

साँखु, काठमाडौँ।
काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा अवस्थित करिबप ३३०० वर्ष पुरानो ऐतिहासिक तथा पौराणिक नगरी साँखु यतिबेला विकासको नयाँ लहरसँगै रूपान्तरणको दिशामा अघि बढिरहेको छ। शङ्खरापुर नगरपालिकाभित्र पर्ने यस प्राचीन बस्तीमा भौतिक पूर्वाधारसँगै धार्मिक सम्पदाको संरक्षणका कार्यहरू एकैसाथ तीव्र गतिमा अगाडि बढिरहेका छन्।
विशेषगरी करिब १५०० वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको शालिनदी स्थित प्रसिद्ध माधव नारायण व्रत स्थलमा हाल व्यापक सुधार तथा निर्माण कार्य भइरहेको छ, जसले यस क्षेत्रलाई अझ व्यवस्थित र आकर्षक बनाउने अपेक्षा गरिएको छ।


नदी नियन्त्रण र करिडोर निर्माण तीव्र
शालिनदीमा बर्सेनि हुने कटान नियन्त्रण तथा क्षेत्र व्यवस्थापनका लागि करिब ३ करोड रुपैयाँको लागतमा नदी नियन्त्रण तथा करिडोर निर्माण कार्य भइरहेको छ। श्री माधव नारायण स्वस्थानी व्रत तथा साली नदी सुधार समितिका सल्लाहकार प्रवीनमान सिंहको पहल, कागेश्वरी–मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीको विशेष अनुरोध र तत्कालीन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको बजेट विनियोजनबाट यो योजना कार्यान्वयनमा आएको हो।



रु. २ करोड ७८ लाखभन्दा बढी लागतको उक्त आयोजना एम/एस जलपा निर्माण सेवा एण्ड सप्लायर्सले जिम्मा लिएको छ र आगामी २०८३ असारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण कार्य हाल तीव्र गतिमा अघि बढिरहेको सम्बन्धित पक्षले जनाएको छ।



माधव नारायण मन्दिरमा सुनको गजुर
भौतिक विकाससँगै धार्मिक सम्पदाको संरक्षणमा पनि उल्लेखनीय प्रगति देखिएको छ। यस वर्षको माघ मेलामा भक्तजनहरूबाट संकलित १ करोड ४० लाख रुपैयाँभन्दा बढी रकममध्येबाट विभिन्न धार्मिक तथा भौतिक संरचना निर्माण गरिने भएको छ।
यसैक्रममा श्री माधव नारायण भगवानको मन्दिरको गजुरमा सुनको जलप लगाउने कार्य सुरु गरिएको छ। शुभ साइत पारेर आज विधिपूर्वक मन्दिरको गजुर निकालिएको छ। समितिका सचिव बालकृष्ण सिंहका अनुसार करिब १४ तोला सुन प्रयोग हुने र करिब ३ लाख रुपैयाँ ज्याला खर्च हुने अनुमान गरिएको छ।


स्थानीय तहबाट पूर्वाधार विकास
शङ्खरापुर नगरपालिका वडा नं. ५ को ३ लाख रुपैयाँ बजेटबाट शालिनदीमा स्नान गर्ने स्थानदेखि मचागालसम्म जाने सिँढी निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यसले तीर्थालुहरूलाई सहज पहुँच प्रदान गर्ने विश्वास गरिएको छ।
त्यस्तै, समितिले संकलित रकमबाट अधुरो रहेको भीमसेन पाटी निर्माण कार्य सम्पन्न गर्ने योजना बनाएको छ। अन्तिम चरणमा यदि रकम बाँकी रहे तथा भक्तजनबाट थप आर्थिक सहयोग प्राप्त भए एतिहासिक घाटपाटी निर्माण सम्पन्न भएपछि वर्तमान कार्यसमितिले आफ्नो जिम्मेवारी दुगाहिती टोललाई हस्तान्तरण गर्ने तयारी गरेको सचिव बाल कृष्ण सिंले जानकारी दिएका छन्।
पर्यटन र धार्मिक महत्व अझ बढ्ने अपेक्षा
शालिनदी क्षेत्रको समग्र विकासले एकातिर ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गर्नेछ भने अर्कोतर्फ पर्यटक र भक्तजनका लागि आधुनिक सुविधा विस्तार हुने स्थानीयवासीको विश्वास छ।
साँखु अब केवल पौराणिक आस्थाको केन्द्र मात्र नभई योजनाबद्ध विकासको नमुना बन्दै गएको छ।

प्रतिक्रिया