नवनिर्वाचित १८ राष्ट्रिय सभा सदस्यको शपथ, नयाँ कार्यकाल औपचारिक रूपमा सुरु

lawanyasandesh.com

साँखु, काठमाडौं, फागुन २५।

राष्ट्रिय सभामा निर्वाचित नयाँ सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आयोजित समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले नवनिर्वाचित सदस्यहरूलाई शपथ गराएका हुन्।



गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित १८ जना सदस्यहरूले सोमबार औपचारिक रूपमा शपथ लिएका हुन्। नेपालको संघीय संसदको माथिल्लो सदनका रूपमा रहेको राष्ट्रिय सभामा कुल ५९ सदस्य रहने संवैधानिक व्यवस्था छ। यसमा प्रत्येक दुई–दुई वर्षमा एक तिहाइ सदस्यको कार्यकाल सकिने भएकाले नयाँ निर्वाचन हुने प्रावधान छ। सोही व्यवस्थाअनुसार फागुन २० गते १९ जना सदस्यको कार्यकाल समाप्त भएको थियो। तीमध्ये १८ जना सदस्यको निर्वाचन भइसकेको छ भने बाँकी एक सदस्यलाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन्।
यसपटकको निर्वाचनबाट नेपाली कांग्रेस का ९ जना, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ८ जना तथा लोकतान्त्रिक समाजवादी पार्टी का एक जना सदस्य राष्ट्रिय सभामा निर्वाचित भएका छन्। प्रदेशगत प्रतिनिधित्वको आधारमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोम पोर्तेल र सुनिलबहादुर थापा; मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रञ्जित कर्ण र महन्थ ठाकुर; बागमती प्रदेशबाट गीता देवकोटा र डा. प्रेमप्रसाद दङ्गाल; गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा; लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव जंगली; कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती र लीलाकुमारी भण्डारी निर्वाचित भएका छन्।



निर्वाचित सदस्यहरूमध्ये केही अनुभवी राजनीतिक व्यक्तित्व तथा विभिन्न क्षेत्रका विज्ञहरू समेत रहेका छन्। मधेस प्रदेशबाट निर्वाचित महन्थ ठाकुर लामो समयदेखि राष्ट्रिय राजनीतिमा सक्रिय नेता हुन्। उनले प्रतिनिधि सभा सदस्य, उपसभामुख लगायतका जिम्मेवारी सम्हालिसकेका छन्। प्रारम्भमा नेपाली कांग्रेस बाट राजनीतिक यात्रा सुरु गरेका ठाकुर पछि मधेस आन्दोलनपछि मधेसकेन्द्रित राजनीतिमा सक्रिय भएका थिए।
कोशी प्रदेशबाट निर्विरोध निर्वाचित सुनिलबहादुर थापा पूर्वमन्त्री तथा पूर्वसंविधानसभा सदस्य हुन्। उनी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा समेत हुन्। लुम्बिनी प्रदेशबाट निर्वाचित रामकुमारी झाँक्री पूर्वमन्त्री तथा पूर्वसांसद हुन् भने बागमती प्रदेशबाट निर्वाचित डा. प्रेमप्रसाद दङ्गाल कृषि, ग्रामीण अर्थतन्त्र तथा किसान आन्दोलनसँग जोडिएका नेताका रूपमा चिनिन्छन्।
यसपटकको निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी बीच चुनावी तालमेल भएको थियो। राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरू मतदाता रहने व्यवस्था छ।
नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल फागुन २१ गतेदेखि औपचारिक रूपमा सुरु भएको छ। नयाँ सदस्यहरूको प्रवेशसँगै राष्ट्रिय सभाको संरचना आंशिक रूपमा परिवर्तन भएको छ र आगामी दिनमा संघीय संसदमा विधेयक छलफल तथा नीति निर्माण प्रक्रियामा उनीहरूको सक्रिय भूमिका रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया