साँखु, काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालको आसन्न चीन भ्रमणको तयारी तीव्र रूपमा अघि बढिरहेको सरकारका प्रवक्ताले बताएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री खनालको चीन भ्रमणको तयारी भइरहेको जानकारी दिएका हुन्।
प्रवक्ता पोखरेलका अनुसार परराष्ट्रमन्त्री खनाल हालै भारत भ्रमण सम्पन्न गरेर फर्किएका छन् र अब चीनसहित अन्य मित्रराष्ट्रहरूको भ्रमण गर्ने कार्यक्रमसमेत रहेको छ। उनले चीन भ्रमणको तयारी अन्तिम चरणमा पुगेको संकेत गर्दै मन्त्री खनाल चाँडै नै बेइजिङ प्रस्थान गर्ने बताए।
“उहाँ भर्खर भारत गएर आउनुभयो। चीन लगायत अन्य देशहरू जाने पनि कार्यक्रम हुन्छ नै। चीन जाने कार्यक्रम आउँदै नै छ, त्यसको लागि उहाँले तयारी गर्दै हुनुहुन्छ। चाँडै जानुहुन्छ,” प्रवक्ता पोखरेलले भने।
सरकारले चीन भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ। भ्रमणका क्रममा नेपाल–चीन सम्बन्धका विविध आयाम, आर्थिक सहकार्य, पूर्वाधार विकास, व्यापार, लगानी, कनेक्टिभिटी, पर्यटन प्रवर्द्धन तथा समसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ।
प्रवक्ता पोखरेलले चीन भ्रमण कुनै एकमात्र एजेन्डामा सीमित नहुने स्पष्ट पार्दै नेपाल र चीनबीच साझा हितका सबै विषयमा समग्र रूपमा संवाद हुने बताए।
“एजेन्डा समसामयिक विषय नै हुन्छन्। भारतमा पनि क्लियर एउटा एजेन्डा लिएर मात्र गएको होइन। अहिले चीनमा पनि एउटा मात्र एजेन्डा हुँदैन। समसामयिक विषयमा नेपाल र चीन सम्बन्धमा थप हामीले मिलेर गर्नुपर्ने योजनाहरू के–के छन्, त्यो सबै समग्र विषयमा छलफल हुन्छ,” उनले भने।
परराष्ट्रमन्त्री खनालको भारत भ्रमणपछि हुन लागेको चीन भ्रमणलाई नेपालको सन्तुलित परराष्ट्र नीतिको निरन्तरताका रूपमा हेरिएको छ। कूटनीतिक वृत्तमा यस भ्रमणले नेपाल–चीन सम्बन्धलाई नयाँ ऊर्जा प्रदान गर्नुका साथै व्यापार, पूर्वाधार, ऊर्जा तथा विकास साझेदारीका क्षेत्रमा थप सहकार्यका ढोका खोल्ने अपेक्षा गरिएको छ।
सरकारी स्रोतका अनुसार भ्रमणका क्रममा द्विपक्षीय हित, विकास परियोजना, सीमापार कनेक्टिभिटी तथा दीर्घकालीन रणनीतिक सहकार्यका विषयहरू प्रमुख प्राथमिकतामा रहनेछन्।