शंखरापुर,काठमाडौं — काठमाडौंको त्रिपुरेश्वरमा सोमबार दिउँसो रिद्धिसिद्धी यातायातको बसमा भएको आगलागीमा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत २५ वर्षीय चालक दावा लामाको सोमबार राति नै मृत्यु भएको प्रहरी स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन्। अस्पतालका अनुसार आगलागीमा उनको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको थियो। उनलाई घटनापछि उद्धार गरी उपचारका लागि बर्न अस्पताल पुर्याइएको थियो।
सोमबार मध्याह्न त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। घटनाका बेला बसमा यात्रु नरहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
चालक आफैंले आगो लगाएको प्रहरीको प्रारम्भिक निष्कर्ष
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यात्रुहरूलाई बसबाट ओरालेपछि चालकले नै बसभित्र आगो लगाएको देखिएको छ। यद्यपि बसमा आगो लगाउनुको कारण र आगो लगाउन प्रयोग गरिएको वस्तुबारे अनुसन्धानबाट यकिन भइसकेको छैन। घटनाअघि चालकको ट्राफिक प्रहरीसँग विवाद भएको विवरण पनि प्रहरीले सार्वजनिक गरेको छ।
प्रत्यक्षदर्शीको भनाइअनुसार बसको भित्रबाट आगो लागेको देखिएको थियो। प्रहरीका अनुसार उद्धारका क्रममा बसको ढोका भित्रबाट बन्द रहेको र ढोका फुटाएर चालकलाई बाहिर निकालिएको थियो।
चालकको पहिचानबारे अनुसन्धान
घटनापछि चालकको पहिचानका विषयमा भने केही समय अन्योल देखिएको थियो। प्रहरीले सुरुमा चालकलाई काभ्रेपलाञ्चोकको पनौती ठेगाना भएका दावा लामा भनेर पहिचान गरेको थियो। तर उनको लाइसेन्समा रहेको फोन नम्बरमा सम्पर्क गर्दा सो नम्बरका व्यक्तिले आफू सकुशल रहेको र आफ्नो लाइसेन्स हराएको बताएका थिए। त्यसपछि प्रहरीले घाइते व्यक्तिको वास्तविक पहिचानबारे थप अनुसन्धान थालेको थियो।
पछिल्लो विवरणमा भने अस्पताल र प्रहरी स्रोतले उपचाररत चालकलाई २५ वर्षीय अर्जुनदावा लामाका रूपमा उल्लेख गरेका छन्। उनको स्थायी घर मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरी र हाल कोटेश्वरमा बसोबास रहेको विवरणसमेत सार्वजनिक भएको छ। उनी विगत केही वर्षदेखि सवारी चालकका रूपमा काम गर्दै आएको र पछिल्लो ३–४ महिनादेखि रिद्धिसिद्धी यातायातमा कार्यरत रहेको बताइएको छ।
घटनाको वास्तविक कारण तथा चालकको पहिचानसम्बन्धी विषय स्पष्ट पार्न प्रहरीले अनुसन्धान अघि बढाएको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले घटनाको छानबिनका लागि छुट्टै समिति गठन गरेको विवरणसमेत सार्वजनिक भएको छ।
यस घटनाका कारण त्रिपुरेश्वरस्थित राहदानी विभागको सेवा पनि प्रभावित भएको थियो। विभागका अनुसार आगलागीका कारण विद्युत् तथा इन्टरनेट सेवामा अवरोध हुँदा राहदानी छपाइ र वितरणमा असर परेको थियो।