विश्व वातावरण दिवसमा भगवती माध्यमिक विद्यालयको बृहत् प्रभातफेरी, सरसफाइ तथा जनचेतनामूलक अभियान

lawanyasandesh.com

शंखरापुर, काठमाण्डौं। ५४औँ विश्व वातावरण दिवस २०८३ को अवसरमा शंखरापुर नगरपालिका–६ स्थित श्री भगवती माध्यमिक विद्यालय, साँखुले बृहत् प्रभातफेरी, सरसफाइ अभियान, जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी दिवसलाई भव्यताका साथ मनाएको छ।


“Inspired by Nature for Climate, For Our Future” अर्थात् “जलवायुका लागि प्रकृतिबाट प्रेरित, हाम्रो भविष्यका लागि” तथा “सफा वातावरण एवं स्वच्छ हावा प्रवर्द्धनका लागि मेरो प्रतिबद्धता” भन्ने नाराका साथ आयोजित कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थी तथा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो।


कार्यक्रमअन्तर्गत विद्यार्थी तथा शिक्षकहरूले वातावरण संरक्षणसम्बन्धी विभिन्न सन्देश अंकित प्लेकार्ड, ब्यानर तथा नारासहित साँखु नगरका मुख्य सडक, चोक तथा बजार क्षेत्रको परिक्रमा गरेका थिए। प्रभातफेरीमार्फत स्वच्छ वातावरण, स्वच्छ हावा, जलस्रोत तथा मुहान संरक्षण, प्लास्टिक प्रदूषण न्यूनीकरण, वृक्षारोपण, जैविक विविधता संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणसम्बन्धी सन्देश प्रवाह गरिएको थियो।


सहभागी विद्यार्थीहरूले “प्रकृति बचाऔँ, भविष्य जोगाऔँ”, “स्वच्छ हावा हाम्रो अधिकार”, “मुहान संरक्षण गरौँ”, “प्लास्टिकको प्रयोग घटाऔँ”, “हरियाली बढाऔँ, प्रदूषण घटाऔँ” लगायतका सन्देशसहित स्थानीय समुदायलाई वातावरण संरक्षणमा सक्रिय हुन आह्वान गरेका थिए। प्रभातफेरीले साँखु बजार क्षेत्रमा वातावरणीय चेतना फैलाउनुका साथै प्रकृतिप्रति जिम्मेवार बन्न सबैलाई प्रेरित गरेको सहभागीहरूको भनाइ थियो।


प्रभातफेरीपछि विद्यालय परिसर, आसपासका सार्वजनिक स्थल तथा सडक क्षेत्रमा बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको थियो। विद्यार्थीहरूले प्लास्टिक, कागज तथा अन्य फोहोरजन्य वस्तु संकलन गरी उचित व्यवस्थापन गरेका थिए। सरसफाइ अभियानले विद्यालय र समुदायलाई स्वच्छ, स्वस्थ तथा वातावरणमैत्री बनाउने सन्देश प्रवाह गरेको बताइएको छ।


यस अवसरमा सञ्चालन गरिएको वातावरण संरक्षण, फोहोर व्यवस्थापन, जलस्रोत संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा वातावरणीय उत्तरदायित्व केवल सरकार वा कुनै एक संस्थाको जिम्मेवारी नभई सम्पूर्ण समुदायको साझा दायित्व भएको विषयमा विशेष जोड दिइएको थियो।


विद्यालयका हेड मास्टर अनुप श्रेष्ठका अनुसार विद्यार्थीहरूमा वातावरणीय चेतना, सामाजिक उत्तरदायित्व तथा व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गरिँदै आएका छन्। वातावरणीय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक अभ्यासमार्फत प्रकृतिप्रति जिम्मेवार नागरिक निर्माण गर्नु विद्यालयको प्रमुख लक्ष्य रहेको जनाएको छ।


जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा देखापरिरहेका चुनौती, बढ्दो तापक्रम, जलस्रोतमा परेको असर तथा वातावरणीय असन्तुलनप्रति नयाँ पुस्तालाई सचेत गराउनु आजको आवश्यकता भएको विद्यालयका शिक्षकहरूले बताएका छन्। उनीहरूका अनुसार वातावरण संरक्षणसम्बन्धी सचेतना विद्यालयबाटै सुरु भएमा दिगो विकास र हरित भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्नेछ।


विश्व वातावरण दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले साँखु क्षेत्रमा वातावरणीय सचेतना अभिवृद्धि गर्नुका साथै स्वच्छता, हरियाली प्रवर्द्धन र जलवायु संरक्षणप्रतिको सामुदायिक प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ। सहभागीहरूले वातावरण संरक्षणलाई एकदिने औपचारिक कार्यक्रमका रूपमा नभई दैनिक जीवनको अभिन्न अभ्यासका रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिएका थिए।


श्री भगवती माध्यमिक विद्यालयद्वारा आयोजित यस बृहत् प्रभातफेरी, सरसफाइ तथा जनचेतनामूलक अभियानले वातावरण संरक्षणको सन्देश समुदायका प्रत्येक तहसम्म पुर्‍याउँदै स्वच्छ, हरित र दिगो भविष्य निर्माणतर्फ महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास गरिएको छ।

प्रतिक्रिया