वर्षाका बाबजुद साँखुमा १३० कुमारको पूजा सम्पन्न

lawanyasandesh.com

शंखरापुर (साँखु), काठमाण्डौं। निरन्तर वर्षाका बाबजुद उल्लेख्य सङ्ख्यामा कुमार तथा भक्तजनको उत्साहजनक सहभागिताबीच शंखरापुर नगरपालिका–६, सुनटोल सांगाल, साँखुमा शनिबार १३० जना कुमारको पूजा सम्पन्न भएको छ।


२०८३ कात्तिक १४ गते कुमार पूजा समितिको आयोजनामा सम्पन्न उक्त धार्मिक कार्यक्रममा प्रतिकूल मौसमका बाबजुद बालक कुमारहरूको उल्लेख्य सहभागिता रहेको थियो। वर्षाका कारण कार्यक्रम प्रभावित हुने अनुमान गरिए पनि कुमार तथा भक्तजनको उल्लासमय उपस्थितिले वर्षाको झरीको आभासलाई समेत ओझेलमा पारेको थियो। पानी परिरहेको अवस्थामा पनि स्थानीयवासी तथा श्रद्धालुहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमस्थल धार्मिक रौनकले भरिएको देखिन्थ्यो।


साँखुको मौलिक धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको कुमार पूजामा सुदन राज राजोपाध्याय तथा सुशील राज राजोपाध्यायले परम्परागत विधिअनुसार पूजाविधि सम्पन्न गर्नुभएको थियो। नेवार समुदायको मौलिक धार्मिक संस्कार तथा सांस्कृतिक पहिचानको अभिन्न अङ्गका रूपमा रहेको यस पूजाले बालबालिकालाई परम्परागत संस्कारसँग जोड्नुका साथै पुस्तान्तरण हुँदै आएको धार्मिक आस्थालाई निरन्तरता दिँदै आएको छ।


कार्यक्रममा शंखरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। कुमार पूजा समितिका अध्यक्ष प्रेमकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव रञ्जना श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।


स्थानीय धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण, संवर्द्धन र निरन्तरताका लागि आयोजना हुँदै आएको कुमार पूजाले साँखुको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यस्ता धार्मिक गतिविधिले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कार, संस्कृति र परम्पराबारे परिचित गराउनुका साथै समुदायबीच आपसी सद्भाव, सहकार्य र सामाजिक एकतालाई समेत बलियो बनाउने विश्वास गरिएको छ।


कार्यक्रमको समापनमा कुमार पूजा समितिले वर्षाका बाबजुद कार्यक्रममा सहभागी भई पूजा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण कुमार, अभिभावक, भक्तजन, अतिथि तथा सहयोगीहरूप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ।


वर्षाको प्रवाह नगरी १३० जना कुमारको सहभागितामा सम्पन्न यस पूजाले साँखुवासीमा आफ्नो मौलिक धर्म, संस्कृति र परम्पराप्रतिको लगाव अझै जीवन्त रहेको सन्देश दिएको छ। स्थानीय मौलिक संस्कृतिको संरक्षण र भावी पुस्तामा यसको हस्तान्तरणका लागि यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको स्थानीयको विश्वास छ।

प्रतिक्रिया