साँखु,काठमाडौँ । श्री बज्रयोगिनी देवी जात्राको अवसर पारेर साँखुमा आयोजना गरिएको दाफा सङ्गीत कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भएको छ। चैत्र २३ गते सोमबार साँझ ६ बजेदेखि सुरु भएको कार्यक्रममा स्थानीयवासी, भक्तजन तथा सङ्गीतप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा Project BAJA NEPAL Lubhoo Dhaa KhaLa “लुँभु धाँ खलः”, Freedom Group Lubhu, तलेजु बाजं खलः तथा ङ्त भूलु अजिमाँ दाफा समूहले पारम्परिक दाफा सङ्गीत प्रस्तुत गरेका थिए। सहभागी समूहहरूले भक्ति तथा सांस्कृतिक झल्को दिने विविध दाफा धुनहरू प्रस्तुत गर्दा वातावरण भक्तिमय बनेको थियो।
श्री बज्रयोगिनी देवी जात्राको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा उपस्थित दर्शकहरूले पारम्परिक नेवार संस्कृति झल्काउने दाफा सङ्गीतको भरपुर आनन्द लिएका थिए। आयोजकका अनुसार यस्ता कार्यक्रमले जात्राको सांस्कृतिक महत्व थप उजागर गर्नुका साथै मौलिक परम्परा संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।