साँखु,काठमाडौँ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणामले नेपालको राजनीतिक परिदृश्यमा नयाँ संकेत देखाएको छ। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर उत्साहजनक नतिजा हासिल गर्दै स्थापित राजनीतिक शक्तिहरूबीच बलियो उपस्थिति देखाएको छ। मतगणना क्रमशः अघि बढिरहँदा रास्वपाको ‘घण्टी’ चिन्हले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा उल्लेखनीय सफलता प्राप्त गरेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ।
प्रत्यक्षतर्फ उल्लेखनीय सफलता
हालसम्म प्राप्त विवरण अनुसार रास्वपाले प्रत्यक्षतर्फ १०० सिटमा विजय हासिल गरिसकेको छ भने २५ निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ। यो संख्या अन्य दलहरुको भन्दा अत्यन्त बढी छ यदि यसरि अग्रता कायम राख्ने हो भने यो परिणाम नेपालमा नयाँ शक्तिको प्रभावलाई अझ बलियो रूपमा स्थापित गर्ने संकेतका रूपमा हेरिएको छ। निर्वाचनको प्रत्यक्षतर्फको अवस्था यश प्रकार रहेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार मतदाताले परम्परागत राजनीतिक शैलीभन्दा फरक विकल्प खोजिरहेका बेला रास्वपाले आफूलाई वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गर्न सफल भएको देखिन्छ।
अन्य प्रमुख दलहरूको अवस्था
यसैबीच, पुराना राजनीतिक दलहरू पनि विभिन्न क्षेत्रमा प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेका छन्। विशेषगरी नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी लगायतका दलहरूले पनि केही क्षेत्रमा आफ्नो प्रभाव कायम राखेका छन्।यद्यपि प्रारम्भिक परिणामहरूले भने यसपटक मतदाताको झुकाव नयाँ राजनीतिक शक्तितर्फ बढी देखिएको विश्लेषकहरू बताउँछन्।
समानुपातिक मतगणनामा पनि अग्रता
समानुपातिकतर्फको प्रारम्भिक मतगणनाले पनि रास्वपाको बलियो स्थिति देखाएको छ। हालसम्म २१,६४,४०१ मत गणना हुँदा रास्वपाले उल्लेखनीय मत प्राप्त गर्दै स्पष्ट अग्रता कायम गरेको छ।
मुख्य दलहरूले प्राप्त गरेको समानुपातिक मत यस प्रकार छः
राष्ट्रिय स्वतन्त्र पार्टी: ११,१३,९४८
नेपाली काँग्रेस: ३,६६,४६७
नेकपा एमाले: २,९४,३३६
नेपाल कम्युनिस्ट पार्टी: १,२९,५१७
राष्ट्रिय प्रजातन्त्र पार्टी: ७९,९२१
समानुपातिक मतपरिणामले पनि मतदाताहरूले नयाँ राजनीतिक धारालाई उल्लेखनीय समर्थन गरेको संकेत गरेको छ।
मतदाताको मनोभावमा परिवर्तनको संकेत
विशेषगरी सहरी क्षेत्र, शिक्षित युवा वर्ग तथा सामाजिक सञ्जालमार्फत सक्रिय मतदाताहरूको आकर्षण रास्वपातर्फ देखिएको विश्लेषण गरिएको छ। सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कृतिको अपेक्षाले मतदाताको झुकाव परिवर्तन भएको राजनीतिक पर्यवेक्षकहरूको भनाइ छ।
यसैबीच, अन्य दलहरूले पनि परिणामलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
अन्तिम नतिजा आउन बाँकी
हाल मतगणना जारी रहेकाले केही निर्वाचन क्षेत्रको अन्तिम नतिजा आउन बाँकी छ। अन्तिम परिणाम सार्वजनिक भएपछि संसदको समग्र शक्ति सन्तुलन कस्तो बन्ने भन्ने स्पष्ट हुनेछ।
तर प्रारम्भिक तथ्याङ्कले भने नेपालको लोकतान्त्रिक अभ्यासमा मतदाताले नयाँ विकल्पप्रति भरोसा व्यक्त गरेको संकेत दिएको देखिन्छ।