प्रजातन्त्र दिवसमा राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान: दिगो शान्ति र सुशासनमार्फत समृद्धिको यात्रामा एकजुट हुन आग्रह

lawanyasandesh.com

साँखु,काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुलुकले दिगो शान्ति, सुशासन, तीव्र विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सफल होस् भन्ने कामना व्यक्त गरेका छन्।


उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि विभिन्न चरणमा भएका जनआन्दोलन र संघर्षमा योगदान दिने सम्पूर्ण व्यक्तित्वप्रति सम्मान प्रकट गरेका छन्।

शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अग्रज नेतृत्वको त्याग र मार्गदर्शनलाई उच्च सम्मानका साथ स्मरण गरेका छन्। उनका अनुसार लोकतन्त्रको सुदृढीकरण नागरिक अधिकारको संरक्षणसँगै सुशासन र समृद्धिको आधार हो।

राष्ट्रपतिले संविधान र लोकतान्त्रिक व्यवस्थाले निर्देशित मार्गलाई प्रभावकारी बनाउन स्वच्छ, निष्पक्ष र सफल निर्वाचन अपरिहार्य रहेको उल्लेख गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सक्रिय सहभागिता जनाउन सबैमा आह्वान गरेका छन्। उनले जनताले अपेक्षा गरेको सुशासन र विकासको यात्रालाई गति दिन निर्वाचनको सफलता साझा दायित्व भएको बताएका छन्।

विसं २००७ को ऐतिहासिक क्रान्तिले निरङ्कुश शासनविरुद्ध जनशक्तिको विजय सुनिश्चित गर्दै मानवअधिकार र नागरिक स्वतन्त्रताको नयाँ युग प्रारम्भ गरेको स्मरण गराउँदै उनले प्रजातन्त्र दिवसलाई गौरवपूर्ण तथा अविस्मरणीय क्षणका रूपमा चित्रित गरेका छन्।

राष्ट्रपतिका अनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको स्थापना र वर्तमान संविधान निर्माणको महत्वपूर्ण जग २००७ सालको क्रान्तिले नै तयार गरेको हो। उनले सात दशकभन्दा लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सामाजिक न्याय, समानता, सद्भाव र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।


“जनता नै राज्य शक्तिको स्रोत हुन् भन्ने मान्यता लोकतन्त्रले स्थापित गरेको छ,” सन्देशमा उल्लेख गर्दै उनले न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माणतर्फ अग्रसर हुनुपर्ने आवश्यकता औंल्याएका छन्।


राष्ट्रपति पौडेलले सुशासनमार्फत मुलुकलाई विकास र समृद्धिको मार्गमा अग्रसर गराउनु नै संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य लक्ष्य भएको उल्लेख गर्दै त्यस दिशामा साझा प्रतिबद्धता आवश्यक रहेको बताएका 

प्रतिक्रिया