शंखरापुर, काठमाण्डौं ।
नेपाली कला, साहित्य, हास्यव्यङ्ग्य र सामाजिक चेतनाको क्षेत्रमा आधा शताब्दीदेखि विशिष्ट योगदान पुर्याउँदै आएका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित चलचित्र ‘मदनकृष्ण’ निर्माण हुने भएको छ। नेपाली चलचित्र इतिहासमै पहिलो पटक कुनै अभिनेताको जीवनमा आधारित बायोपिक निर्माण हुन लागेको हो।
काठमाण्डौंमा आयोजित भव्य तथा भावनात्मक समारोहबीच चलचित्रको औपचारिक घोषणा गरिएको हो। धिमे बाजाको गुञ्जन, गलाभरि माला र खादा तथा छेउमै जीवनयात्राका अभिन्न सहयात्री हरिवंश आचार्यको उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको थियो। आफ्नै जीवनका संघर्ष, सफलता र भावनात्मक उतारचढावहरू अब चलचित्रका रूपमा पर्दामा उतारिने घोषणा हुँदा ७६ वर्षीय मदनकृष्ण श्रेष्ठका आँखामा खुसीका आँसु समेत झल्किएका थिए।
कार्यक्रमको सुरुवात प्रसिद्ध गायिका आनी छोइङ डोल्माको स्वस्तिवाचनबाट गरिएको थियो भने निर्माण टोलीले बिहानै पशुपतिनाथ मन्दिरमा विशेष पूजा–आराधना सम्पन्न गरेको थियो। चलचित्रको औपचारिक शुभारम्भ मह जोडीका सदस्य मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा गरेका थिए।
महेश त्रिपाठीले निर्वाह गर्नेछन् मदनकृष्णको भूमिका
चलचित्रमा मदनकृष्ण श्रेष्ठको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन्। अभिनय क्षमताका कारण दर्शकमाझ छुट्टै पहिचान बनाएका त्रिपाठीका लागि यो भूमिका करिअरकै सबैभन्दा महत्वपूर्ण र चुनौतीपूर्ण अवसरका रूपमा हेरिएको छ।
दशकौंसम्म नेपाली कला, साहित्य र मनोरञ्जन क्षेत्रमा विशिष्ट योगदान दिएका मदनकृष्ण श्रेष्ठको जीवनयात्रा, संघर्ष, भावनात्मक उतारचढाव तथा सफलतालाई महेशले पर्दामा कसरी जीवन्त बनाउँछन् भन्ने विषय अहिले चलचित्र वृत्तमा विशेष चासोको विषय बनेको छ।
त्यसैगरी मदनकृष्णकी जीवनसंगिनी यशोदा श्रेष्ठको भूमिकामा चर्चित अभिनेत्री केकी अधिकारी देखिने निश्चित भएको छ। चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ तथा देशभक्त खनालको समेत अभिनय रहनेछ।
यद्यपि मदनकृष्णको जीवनको अभिन्न हिस्सा मानिने हरिवंश आचार्यको भूमिका कसले निर्वाह गर्ने भन्ने विषयलाई निर्माण पक्षले हालसम्म गोप्य राखेको छ।
मदनकृष्णको जीवनका संघर्षदेखि मह जोडीको स्वर्णिम यात्रासम्म
चलचित्रले मदनकृष्ण श्रेष्ठको बाल्यकाल, आर्थिक तथा सामाजिक संघर्ष, सरकारी जागिरे जीवनका अनुभव, कलाकारितामा प्रवेश, अन्तरजातीय विवाहले निम्त्याएका चुनौती, पारिवारिक जीवन, मह जोडीको स्थापना तथा हरिवंश आचार्यसँगको चार दशकभन्दा लामो ऐतिहासिक सहकार्यलाई समेट्नेछ।
निर्माण पक्षका अनुसार चलचित्रले केवल एक कलाकारको जीवनी मात्र प्रस्तुत गर्ने छैन, बरु नेपाली समाज, संस्कृति, कला आन्दोलन र सामाजिक रूपान्तरणको एउटा महत्वपूर्ण कालखण्डलाई पनि चित्रण गर्नेछ।
“दर्शकले मेरो जीवनलाई अझ नजिकबाट बुझ्न पाउनुहुनेछ” : मदनकृष्ण
कार्यक्रममा बोल्दै मदनकृष्ण श्रेष्ठले चलचित्र घोषणालाई आफ्नो जीवनकै विशेष क्षणका रूपमा वर्णन गरे।
“म आज एकदमै खुसी छु। दर्शकले मेरो जीवनबारे अझ नजिकबाट बुझ्न पाउनुहुनेछ। मेरो आजसम्मको यात्रा र सफलतामा हरिवंश आचार्यको अत्यन्त ठूलो भूमिका छ, जुन चलचित्रमा पनि झल्किनेछ,” उनले भने।
केही दिनअघि मात्रै चलचित्र विकास बोर्डबाट ‘दीर्घ साधना सम्मान’ प्राप्त गरेका मदनकृष्ण अहिले पनि नेपाली कला क्षेत्रका सर्वाधिक सम्मानित व्यक्तित्वमध्ये एक मानिन्छन्।
हरिवंशको विश्वास : ‘मदन दाइको कथा निर्माता–निर्देशकको भाग्य’
हरिवंश आचार्यले मदनकृष्ण श्रेष्ठको जीवन आफैंमा एउटा असाधारण कथा रहेको बताए।
“मदन दाइको बायोपिक बन्नु मेरो लागि पनि गर्वको विषय हो। उहाँको जीवनमा संघर्ष छ, सफलता छ, पीडा छ, आँसु छ र प्रेरणा पनि छ। यस्तो कथा पाउनु निर्माता र निर्देशकको भाग्य हो,” उनले भने।
उनले निर्देशक मिलन चाम्सप्रति पूर्ण विश्वास व्यक्त गर्दै यस्तो गम्भीर र ऐतिहासिक कथालाई न्याय दिन सक्ने क्षमता चाम्ससँग रहेको बताए।
सफल बायोपिक निर्देशक मिलन चाम्सको काँधमा जिम्मेवारी
चलचित्रको निर्देशन मिलन चाम्सले गर्नेछन्। पछिल्लो समय नेपाली चलचित्र उद्योगमा बायोपिक निर्माणका सफल निर्देशकका रूपमा स्थापित चाम्सले यसअघि ‘ब्लाइन्ड रक्स’, ‘बबी’ तथा फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित ‘अञ्जिला’ निर्देशन गरिसकेका छन्।
दृष्टिविहीन प्रेरणादायी व्यक्तित्व सृष्टि केसीको जीवनमा आधारित ‘ब्लाइन्ड रक्स’ मा अभिनेत्री वेनिशा हमालको अभिनयले व्यापक प्रशंसा पाएको थियो भने ‘अञ्जिला’ व्यावसायिक रूपमा समेत उल्लेखनीय सफल भएको थियो।
निर्देशक चाम्सले कार्यक्रममा मदनकृष्ण श्रेष्ठको पर्दा अगाडिको मात्र होइन, पर्दा पछाडिको जीवनलाई समेत सूक्ष्म रूपमा प्रस्तुत गरिने बताएका थिए।
अनुभवी प्राविधिक टोली
भिन्टेज मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रका निर्माता राजकुमार श्रेष्ठ हुन्। कथा तथा पटकथा यम थापाले तयार पारेका छन्।
चलचित्रमा छायांकन पदमबहादुर श्रेष्ठ (बाबु श्रेष्ठ), सम्पादन मिलन श्रेष्ठ, पार्श्व संगीत अलिश कार्की तथा साउन्ड डिजाइन भरत कँडेलले गर्नेछन्।
वितरणको जिम्मेवारी रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट तथा एफ.डी. कम्पनीले सम्हाल्ने जनाइएको छ।
भदौ दोस्रो सातादेखि छायांकन
निर्माण पक्षका अनुसार चलचित्रको छायांकन आगामी भदौ महिनाको दोस्रो सातादेखि सुरु गरिने तयारी गरिएको छ। कलाकार छनोट, प्राविधिक तयारी तथा पूर्वउत्पादनका कामहरू तीव्र गतिमा अघि बढिरहेका छन्।
नेपाली चलचित्र उद्योगका लागि नयाँ माइलस्टोन
कार्यक्रममा उपस्थित चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले मदनकृष्ण र हरिवंश नेपाली कला क्षेत्रका यस्ता व्यक्तित्व भएको बताए जसप्रति नेपाली समाजले सधैं सम्मान व्यक्त गर्ने गरेको छ।
उनले बायोपिक निर्माण आफैंमा चुनौतीपूर्ण कार्य भएको उल्लेख गर्दै ‘मदनकृष्ण’ नेपाली चलचित्र उद्योगका लागि अर्को महत्वपूर्ण माइलस्टोन बन्न सक्ने विश्वास व्यक्त गरे।
यसअघि नेपाली चलचित्र क्षेत्रमा स्वरसम्राट नारायणगोपाल तथा गायक भक्तराज आचार्यको जीवनमा आधारित चलचित्र निर्माण भए पनि कुनै अभिनेताको जीवनमा आधारित बायोपिक बनेको थिएन। त्यस अर्थमा ‘मदनकृष्ण’ नेपाली चलचित्र इतिहासको एउटा नयाँ अध्यायका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
नेपाली कला क्षेत्रका राष्ट्रिय गहनाका रूपमा सम्मानित मदनकृष्ण श्रेष्ठको जीवनलाई पर्दामा हेर्न पाउने अवसर सिर्जना भएपछि चलचित्रकर्मी, कला प्रेमी तथा आम दर्शकमाझ उत्सुकता र प्रतीक्षा दुवै बढेको छ। संघर्ष, प्रेम, मित्रता, कला र समाजप्रतिको समर्पणले भरिएको यो चलचित्र नेपाली बायोपिक विधाको महत्वपूर्ण दस्तावेज बन्ने अपेक्षा गरिएको छ।