गोलको वर्षा भएको रोमाञ्चक खेलमा फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो विश्वकप २०२६ को तेस्रो, एमबाप्पेले तोडे मेसीको विश्वकीर्तिमान

lawanyasandesh.com

शंखरापुर, काठमाडौँ ।फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको इतिहासकै सर्वाधिक गोल भएको खेलमध्ये एकमा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ ले पराजित गर्दै ऐतिहासिक कास्य पदक जितेको छ। मियामी गार्डेन्सस्थित मियामी स्टेडियममा आइतबार बिहान भएको रोमाञ्चक प्रतिस्पर्धामा १० गोलको वर्षा हुँदा इंग्ल्यान्डले सन् १९६६ को विश्वकप उपाधिपछिको आफ्नो उत्कृष्ट विश्वकप नतिजा हात पारेको हो।

खेलमा इंग्ल्यान्ड विजयी भए पनि फ्रान्सका कप्तान किलियन एमबाप्पेले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि आफ्नो नाममा लेखाए। उनले दुई गोल गर्दै विश्वकप इतिहासमा आफ्नो कुल गोल संख्या २२ पुर्‍याउँदै अर्जेन्टिनाका लियोनल मेसीको २१ गोलको कीर्तिमान तोडेर विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्न सफल भए। एमबाप्पेले यो कीर्तिमान केवल तीन संस्करण (२०१८, २०२२ र २०२६) का विश्वकप खेल्दै कायम गरेका हुन्।

इंग्ल्यान्डले खेलको सुरुवातदेखि नै फ्रान्समाथि दबाब बनाएको थियो। तेस्रो मिनेटमा डिक्लन राइसले गोल गर्दै अग्रता दिलाए भने १४औँ मिनेटमा इर्ली कोन्शाले उत्कृष्ट हेडरमार्फत स्कोर २–० बनाए। त्यसपछि ३७औँ मिनेट र पहिलो हाफको इन्जुरी समयमा बुकायो साकाले लगातार दुई गोल गर्दै पहिलो हाफमै इंग्ल्यान्डलाई ४–० को बलियो अग्रतामा पुर्‍याए।

चार गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा सशक्त पुनरागमनको प्रयास गर्‍यो। ४८औँ मिनेटमा एमबाप्पेले पहिलो गोल फर्काए भने ५४औँ मिनेटमा ब्राडली बारकोलाले गोल गर्दै अन्तर ४–२ मा झारे। ६६औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४–३ को रोमाञ्चक अवस्थामा ल्याए र यही गोलसँगै उनले विश्वकप इतिहासको नयाँ कीर्तिमान पनि बनाए।

खेलको अन्तिम चरण झन् रोमाञ्चक बन्यो। ८७औँ मिनेटमा इंग्ल्यान्डले पेनाल्टी पायो, जसलाई बुकायो साकाले सहजै गोलमा परिणत गर्दै आफ्नो शानदार ह्याट्रिक पूरा गरे। अतिरिक्त समयको छैटौँ मिनेटमा उस्मान डेम्बेलेले फ्रान्सका लागि गोल गर्दै स्कोर ५–४ बनाएपछि खेलमा पुनः तनाव बढ्यो। तर अतिरिक्त समयकै आठौँ मिनेटमा जुड बेलिंघमले निर्णायक गोल गर्दै इंग्ल्यान्डको ६–४ को ऐतिहासिक जित सुनिश्चित गरे।

बुकायो साकाको ह्याट्रिक, बेलिंघमको निर्णायक प्रदर्शन र इंग्ल्यान्डको आक्रामक खेलले फ्रान्सको पुनरागमन प्रयासलाई असफल बनायो। जारी विश्वकपमा सात गोल पुर्‍याएका बेलिंघमले एकै विश्वकपमा इंग्ल्यान्डका लागि सर्वाधिक गोल गर्ने नयाँ राष्ट्रिय कीर्तिमान पनि कायम गरे।

खेलका तथ्याङ्कले पनि दुवै टोलीबीच कडा प्रतिस्पर्धा भएको देखाउँछ। दुवै टोलीले १८–१८ सट प्रहार गरेका थिए भने टार्गेटमा इंग्ल्यान्डका १० र फ्रान्सका ९ सट पुगे। बलमाथिको नियन्त्रण इंग्ल्यान्डको ५५ प्रतिशत तथा फ्रान्सको ४५ प्रतिशत रह्यो। पास एकुरेसी दुवै टोलीको ९२ प्रतिशत थियो।

फ्रान्सका माइकल ओलिसेले प्रतियोगिताभर सात असिस्ट गर्दै एकै विश्वकपमा सर्वाधिक असिस्ट गर्ने नयाँ कीर्तिमान पनि बनाए। उनले सन् १९७० मा ब्राजिलका पेलेले बनाएको पुरानो कीर्तिमानलाई उछिनेका हुन्।

गोल्डेन बुटको दौड पनि यस खेलसँगै थप रोमाञ्चक बनेको छ। एमबाप्पे जारी विश्वकपमा १० गोलसहित शीर्ष स्थानमा छन् भने फाइनल खेल्न बाँकी रहेका अर्जेन्टिनाका कप्तान लियोनल मेसी आठ गोलका साथ दोस्रो स्थानमा छन्। मेसीले गोल्डेन बुट जित्न फाइनलमा कम्तीमा ह्याट्रिक गर्नुपर्ने वा दुई गोलसँगै एक असिस्ट गर्नुपर्ने समीकरण बनेको छ।

विश्वकपअघि तथा प्रतियोगिताको प्रारम्भिक चरणमा जुड बेलिंघमलाई पहिलो रोजाइमा राख्ने निर्णयका कारण आलोचित भएका इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलको रणनीति अन्ततः पूर्ण रूपमा सफल सावित भएको छ। बेलिंघमले सात गोल गर्दै टोलीलाई ऐतिहासिक तेस्रो स्थान दिलाउनुका साथै प्रतियोगिताको उत्कृष्ट टोली (टिम अफ द टूर्नामेन्ट) मा स्थान बनाउने सम्भावना पनि बलियो बनाएका छन्।

प्रतिक्रिया