काठमाडौँ, शंखरापुर (साँखु) — परम्परागत संस्कारलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले शंखरापुर नगरपालिका–स्थित साँखु ब्रम्हपुर (बलंपु) मा आगामी वि.सं. २०८३ बैशाख ६ र ७ गते सामूहिक बेल-विवाह कार्यक्रम आयोजना हुने भएको छ। इहि गुठी साँखुले आयोजना गर्ने उक्त कार्यक्रममा इच्छुक अभिभावकहरूलाई आफ्ना छोरीहरू सहभागी गराउन आह्वान गरिएको छ।
गुठीका अनुसार बैशाख ६ गते कार्यक्रमको औपचारिक प्रारम्भ (दुसो) गरिनेछ भने बैशाख ७ गते कन्यादानसहित कार्यक्रमको समापन हुनेछ। प्रत्येक वर्ष जस्तै यस वर्ष पनि पवित्र अवसर अक्षय तृतीया को दिन पारेर कार्यक्रम आयोजना गर्न लागिएको हो।
सनातन हिन्दू धर्ममा अक्षय तृतीया (वैशाख शुक्ल तृतीया) लाई अत्यन्तै शुभ दिनका रूपमा लिइन्छ। यस दिन गरिने दान, धर्म तथा सत्कर्मको फल कहिल्यै नाश नहुने अर्थात् ‘अक्षय’ हुने धार्मिक विश्वास रहेको छ। विशेषगरी विवाहजस्ता शुभ कार्यका लागि साइत हेर्नु नपर्ने र यस दिन सम्पन्न कार्यले विशेष पुण्य प्राप्त हुने मान्यता रहिआएको छ।
त्यस्तै, नेवार समुदायमा यस दिनलाई ‘सस्तुलँ’ पर्वका रूपमा मनाउने गरिन्छ। सस्तुलँमा सातु र सर्वत खाने तथा अरूलाई खुवाउने परम्परा रहेको छ, जसबाट ‘अक्षरी धर्म’ लाग्ने धार्मिक विश्वास रहँदै आएको छ। यही कारणले पनि यो पर्व नेवार समुदायमा विशेष उत्साहका साथ मनाइने गरिन्छ।
कार्यक्रममा सहभागी हुन इच्छुक अभिभावकहरूलाई समयमै आफ्ना छोरीहरूको नाम दर्ता गराई सामूहिक बेल-विवाहमा सहभागी भई धार्मिक तथा सांस्कृतिक पुण्य लाभ लिन गुठीले अनुरोध गरेको छ।
सम्पर्कका लागि:
सुदन राज राजोपाध्याय: ९८४१४०६६७७
प्रमोद लाल श्रेष्ठ: ९८४१२०४६४६
बाल कृष्ण श्रेष्ठ: ९८४१६६०५९८