साँखु बसपार्कमा असुली विवाद चुलिँदै, छानबिनको मागसँगै व्यवस्थापन पक्षको प्रतिवाद

lawanyasandesh.com

शंखरापुर, काठमाण्डौं — शंखरापुर नगरपालिका वडा नं. ७ स्थित साँखु बसपार्कको आर्थिक गतिविधि र व्यवस्थापनलाई लिएर विवाद थप चुलिएको छ। सार्वजनिक लगानीमा निर्माण गरिएको बसपार्कमा अपारदर्शी रूपमा रकम असुली भइरहेको आरोपसहित नागरिक समाजले छानबिनको माग गरेसँगै व्यवस्थापन पक्षले भने आफूहरू कानुनी प्रक्रियाअनुसार सञ्चालनमा रहेको दाबी गरेको छ।
‘शंखरापुर जनचेतना तथा भ्रष्टाचार मुक्त समाज’ले नगर प्रमुखलाई बुझाएको ध्यानाकर्षण पत्रमा बसपार्कमा विगत लामो समयदेखि विभिन्न शीर्षकमा रकम संकलन भइरहेको तर त्यसको पारदर्शिता नदेखिएको उल्लेख गरिएको छ। पत्रमा प्रत्येक बसबाट दैनिक रु २० का दरले असुली हुने, शौचालय सञ्चालनबाट मासिक करिब रु १५ हजार उठ्ने तथा सटर र कोठा भाडाबाट समेत नियमित आम्दानी भइरहेको दाबी गरिएको छ।
स्थानीय नागरिक समाजले सार्वजनिक जग्गा र सरकारी लगानीमा बनेको संरचनाबाट उठ्ने रकमको उपयोगबारे स्पष्ट जानकारी नदिइनु गम्भीर विषय भएको बताउँदै यसलाई “भ्रष्टाचारको शंकास्पद क्षेत्र” का रूपमा औंल्याएको छ। उनीहरूले बसपार्कमा भइरहेको सम्पूर्ण आर्थिक गतिविधिको छानबिन गरी तथ्य सार्वजनिक गर्न, हालको व्यवस्थापन प्रणाली खारेज गरी नगरपालिकाको मातहतमा ल्याउन तथा आम्दानीलाई पारदर्शी ढंगले नगर विकासमा प्रयोग गर्न माग गरेका छन्।
यता, साँखु बसपार्क व्यवस्थापन संस्थाका अध्यक्ष पूर्णकाजी श्रेष्ठले भने आरोपहरूको खण्डन गरेका छन्। फोन वार्तालापमा उनले आफ्नो संस्था विधिवत रूपमा दर्ता भएको, हरेक वर्ष नियमित साधारण सभा गरी आर्थिक तथा प्रगति प्रतिवेदन पेश गर्दै आएको र संस्थागत हिसाबकिताब चुस्त एवं दुरुस्त रहेको बताएका छन्। उनले बसपार्क सञ्चालन र व्यवस्थापनका लागि संस्थाले आवश्यक सेवा उपलब्ध गराउँदै आएको दाबीसमेत गरेका छन्।
दुवै पक्षका दाबी–प्रतिदाबीबीच अब यस विषयमा शंखरापुर नगरपालिकाले गर्ने निर्णय महत्वपूर्ण हुने देखिएको छ। स्थानीयबासीले सार्वजनिक सम्पत्तिको संरक्षण र पारदर्शितालाई सुनिश्चित गर्न आग्रह गर्दै यस प्रकरणलाई सुशासनको परीक्षाका रूपमा लिएका छन्।

प्रतिक्रिया