साँखु/काठमाडौं। बजारमा खाना पकाउने ग्यास तथा इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने गतिविधि बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले निगरानी कडा बनाएको छ। महानगरले ग्यास तथा इन्धनको आपूर्ति व्यवस्थामा अनियमितता देखिए कडा कारबाही गर्ने चेतावनी दिँदै अनुगमन संयन्त्र सक्रिय बनाएको जनाएको छ।
महानगरपालिकाको प्रशासन विभागका प्रमुख महेश काफ्लेका अनुसार ग्यास हुँदाहुँदै पनि ग्राहकलाई नदिने, ‘अब ग्यास पाइँदैन’ भन्दै बढी मूल्य लिने तथा इन्धन डिपोमा मौज्दात हुँदाहुँदै उपभोक्तालाई फर्काउने जस्ता गुनासो बढेपछि निगरानी थप कडा बनाइएको हो।
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर १ हजार ९१० रुपैयाँ तोकेको उल्लेख गर्दै काफ्लेले यही मूल्यमा कारोबार गर्न व्यवसायीलाई निर्देशन दिएका छन्। गलत सूचना फैलाएर बजारमा असहज अवस्था सिर्जना गर्ने तथा कृत्रिम अभाव देखाउने जो–कोहीमाथि कारबाही गरिने उनले चेतावनी दिएका छन्।
महानगरका अनुसार ग्यास अभाव हुने आशङ्काले केही उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास किनेर घरमै सञ्चिति गर्ने प्रवृत्तिले पनि बजारमा अभावको भ्रम सिर्जना भइरहेको छ। यसले माग र आपूर्तिको सन्तुलनमा असर पार्ने भएकाले उपभोक्तालाई जिम्मेवार बन्न महानगरले आग्रह गरेको छ।
ग्यास वा इन्धनको कृत्रिम अभाव सिर्जना गरिएको देखिएमा महानगरपालिकाको हटलाइन नम्बर ११८० र ९८५१३५६५०९ मा जानकारी दिन सकिने व्यवस्था गरिएको छ।
यसैबीच, पोखरामा भने ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरेको आरोपमा एक डिलरलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीसहितको संयुक्त अनुगमन टोलीले छड्के जाँचका क्रममा भण्डारी ट्रेडर्स नामक डिलरलाई कारबाही गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार उक्त डिलरले ग्यास लुकाएर बजारमा अभाव देखाउने प्रयास गर्नुका साथै एउटा सिलिन्डरबाट अर्को सिलिन्डरमा ग्यास सारिरहेको अवस्थामा रंगेहात फेला परेको थियो। अनुगमनका क्रममा १४.२ केजी तौलका ४८ थान ग्यास सिलिन्डर लुकाएर राखिएको भेटिएको थियो भने ग्यास सार्न प्रयोग हुने तीन थान उपकरण समेत बरामद गरिएको प्रशासनले जनाएको छ।
प्रशासनले भेटिएका सिलिन्डरहरू उपभोक्तालाई ‘पहिले आउनेलाई पहिले सेवा’ (फर्स्ट कम, फर्स्ट सर्भ) को आधारमा बिक्री वितरण गर्न निर्देशन दिएको छ।
उता, ग्यास विक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले भारतबाट आउने ग्यास आपूर्ति नियमित रहेको स्पष्ट पार्दै अनावश्यक रूपमा ग्यास सञ्चिति नगर्न उपभोक्तासँग आग्रह गरेका छन्। उनका अनुसार पछिल्लो समय माग अत्यधिक बढेकाले केही स्थानमा अस्थायी अभाव देखिएको हो।