बालेन शाह आज प्रधानमन्त्री शपथ लिँदै, गृह मन्त्री सुदन गुरुङ पक्का

lawanyasandesh.com

साँखु ,काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह आज प्रधानमन्त्री पदको शपथ लिने तयारीमा छन्। शपथलगत्तै उनले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको स्रोतले जनाएको छ।

मन्त्रिपरिषद् गठनका लागि रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले बीच निरन्तर छलफल भइरहेको बताइएको छ। प्रारम्भिक सहमतिअनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, कानुन मन्त्रीमा सोविता गौतम र गृह मन्त्रीमा सुदन गुरुङ को नाम पक्का भएको स्रोतले जनाएको छ। खनाल यसअघि छोटो समयका लागि शिक्षामन्त्री बनेका थिए।

बिहीबार राति राजधानीको एक होटलमा बसेर नेताहरूले मन्त्रिपरिषद्को संरचना र नामावलीबारे छलफल गरेका थिए। महिला, जनजाति, भूगोल र समावेशिताको सन्तुलन मिलाउने विषयमा पनि छलफल जारी रहेको बताइएको छ। शाहले मन्त्रालय संख्या घटाएर अधिकतम १५ मन्त्रालयमा सीमित राख्ने रणनीति लिएका छन्।

आज मध्याह्न १२ः३४ बजे बालेन शाह प्रधानमन्त्रीको शपथ लिनेछन् भने २ः१५ बजे सबै मन्त्रीले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। अहिलेसम्म अर्थमन्त्री, परराष्ट्र मन्त्री, कानुन मन्त्री र गृह मन्त्री गरी चारै मन्त्रीको नाम पक्का भइसकेको छ। बाँकी मन्त्रालयका लागि छलफल जारी भए पनि आजै सबैको टुंगो लगाइने स्रोतले जनाएको छ।

प्रतिक्रिया