जनकपुर प्रतिज्ञा सभा : देश रूपान्तरणका लागि १० भिजन सार्वजनिक, सुशासन र सेवा सुधारमा जोड

lawanyasandesh.com

शंखरापुर काठमाण्डौं,नेपाली कांग्रेसले मधेस केन्द्रित विशेष प्रतिज्ञा सभामार्फत देश रूपान्तरणको स्पष्ट कार्यदिशा प्रस्तुत गरेको छ। जनकपुरमा आयोजित बृहद् सभामा पार्टी नेतृत्वले सुशासन, सेवा प्रवाह सुधार, भ्रष्टाचार नियन्त्रण र युवाकेन्द्रित अवसर विस्तारलाई मुख्य प्राथमिकता बनाउने घोषणा गरेको हो।


सभालाई सम्बोधन गर्दै पार्टी सभापति गगन थापाले कांग्रेस सरकारमा आएपछि नागरिकले झुटा मुद्दा खेप्न नपर्ने व्यवस्था सुनिश्चित गरिने बताए। उनले प्रशासनिक झन्झट घटाउने, अदालत धाउनुपर्ने बाध्यता अन्त्य गर्ने र राज्य सेवामा पारदर्शिता ल्याउने प्रतिवद्धता व्यक्त गरे। किसानले मलखाद सहज रूपमा पाउने, युवाले लाइसेन्स बनाउँदा घुस दिनु नपर्ने र मन्त्रीस्तरबाटै भ्रष्टाचार नगर्ने ग्यारेन्टी लिने दाबी पनि उनले गरे।


थापाले मधेसलाई शिक्षा, स्वास्थ्य, विज्ञान तथा सूचना प्रविधिको सम्भावनायुक्त केन्द्रका रूपमा विकास गर्ने लक्ष्य प्रस्तुत गर्दै खानेपानी, कृषि र वातावरणका समस्या समाधानमा विशेष कार्यक्रम ल्याइने उल्लेख गरे। युवाहरूका लागि खेलकुद पूर्वाधार, विशेषगरी क्रिकेट एकेडेमी स्थापना गर्ने योजना पनि उनले सार्वजनिक गरे। “अब मत मात्र होइन, विश्वास र भरोसा लिन आएका हौं,” उनले भने।


कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले देशको वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको धारणा राखे। उनले निर्धारित समयभन्दा अघि निर्वाचन हुन लागेको सन्दर्भमा स्पष्टता आवश्यक भएको बताउँदै अहिलेको मुख्य प्रश्न “कसलाई जिताउने?” भन्दा पनि “मुलुकलाई कसले सम्हाल्ने?” भएको उल्लेख गरे। मधेसलाई देशको अन्न भण्डारका रूपमा व्याख्या गर्दै उनले किसानहरूको योगदानप्रति कृतज्ञता व्यक्त गरे।


सभामा पार्टीले “१० भिजन” सहितको प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। जसमा सम्मानित जीवन, रोजगारी र सम्पत्ति सिर्जना, खाद्य सुरक्षा, स्वास्थ्य–शिक्षामा पहुँच, विधिको शासन, मौलिकतासहितको आधुनिकता, स्वाभिमान र समुन्नतितर्फ उन्मुख नेपाल निर्माणका लक्ष्य समेटिएका छन्।

कांग्रेस नेतृत्वले विशेष महाधिवेशनपछि पार्टी रूपान्तरणको मार्गमा अघि बढेको दाबी गर्दै पहाड, तराई र हिमालका साझा समस्या समाधानका लागि प्रतिवद्ध भएर अघि बढ्ने जनाएको छ। सभामा सहभागी जनसमुदायप्रति आभार व्यक्त गर्दै नेतृत्वले आगामी निर्वाचनमा बहुमतसहित विजयी गराउन अपिल समेत गरेको 


प्रतिक्रिया