साँखु,काठमाडौं । भोलि (शुक्रबार)देखि लगातार तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरीसहित वर्षा र हिमपात हुने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले मौसम प्रतिकूल रहने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
प्राधिकरणका अनुसार चैत ६ गते शुक्रबारदेखि मौसममा उल्लेख्य परिवर्तन भई देशका पहाडी, हिमाली तथा तराई क्षेत्रहरूमा फरक–फरक किसिमका जोखिम देखिन सक्नेछ।
कहाँ कस्तो प्रभाव पर्नेछ?
भारी वर्षा र हिमपात:
शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
तराईमा हावाहुरीसहित वर्षा:
उही दिन लुम्बिनी प्रदेश अन्तर्गत दाङ र नेपालगञ्ज आसपासका तराई क्षेत्रमा हावाहुरीसहित वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ।
पूर्वी क्षेत्रमा भीषण हावाहुरी:
शनिबार विशेषगरी पूर्वी नेपालका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा करिब ११९ किलोमिटर प्रतिघण्टासम्मको तीव्र गतिको हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।
सम्भावित जोखिम
प्रि–मनसुन सक्रिय हुने यस अवधिमा तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने जोखिम उच्च रहनेछ। साथै, विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुन सक्ने, सडक आवागमन प्रभावित हुने र मानवीय क्षति समेत हुन सक्ने खतरा रहेको प्राधिकरणले जनाएको छ।
नागरिकका लागि सुरक्षा सल्लाह
प्राधिकरणले सम्भावित जोखिम न्यूनीकरणका लागि नागरिकलाई निम्न सावधानी अपनाउन अनुरोध गरेको छः
अत्यावश्यक कामबाहेक बाहिर ननिस्कने
हावाहुरीका बेला घरका झ्यालढोका राम्रोसँग बन्द गरेर सुरक्षित स्थानमा बस्ने
आगोका स्रोतहरू बन्द गर्ने तथा विद्युतीय उपकरण प्रयोगमा सावधानी अपनाउने
सवारी चलाइरहेको अवस्थामा सुरक्षित स्थानमा रोकेर बस्ने
अग्ला रुख, कमजोर भवन, बिजुलीका पोल तथा तारमुनि नबस्ने
झुण्डिएका वा चुँडिएका विद्युतका तार नछुने
प्राधिकरणले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा प्राप्त गर्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न समेत सबैलाई आग्रह गरेको छ।