निर्वाचन आयोगको प्रतिवेदनपछि सरकार गठन प्रक्रिया तीव्र

lawanyasandesh.com

साँखु, काठमाडौं।फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै मुलुक नयाँ सरकार गठनको प्रक्रियातर्फ औपचारिक रूपमा अघि बढेको छ। निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन परिणामसहितको विस्तृत प्रतिवेदन बुझाउने तयारी गरेको छ।
प्रतिवेदन बुझाएसँगै नेपालको संविधानको धारा ७६ अनुसार नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ हुनेछ। यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हासिल गर्दै प्रतिनिधिसभाको कुल २७५ सिटमध्ये १८२ सिट जितेर स्पष्ट बहुमत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ १६५ मध्ये १२५ सिट र समानुपातिकतर्फ ११० मध्ये ५७ सिट जित्दै रास्वपा एक्लै झण्डै दुई तिहाइ बहुमतमा पुगेको हो।
अन्य दलहरूको अवस्था हेर्दा नेपाली कांग्रेस ले ३८ सिट, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले २५ सिट, नेपाल कम्युनिष्ट पार्टी ले १७ सिट, श्रम संस्कृति पार्टीले ७ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ५ सिट जितेका छन्। साथै एक स्वतन्त्र सांसद पनि निर्वाचित भएका छन्।
संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। सोही प्रावधानअनुसार रास्वपाले आफ्नो संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन्द्र शाह लाई अघि सार्ने तयारी गरेको छ। निर्वाचनअघि नै शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएको थियो।
संवैधानिक कानुनविद् डा. खिमलाल देवकोटाका अनुसार, “सांसदको शपथपछि संसदीय दलको नेता चयन हुने र त्यसपछि बहुमत प्राप्त दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने स्पष्ट व्यवस्था संविधानमा छ।” उनका अनुसार यसपटक धारा ७६ (१) अन्तर्गत एकल बहुमतको सरकार बन्ने भएकाले संयुक्त सरकारको आवश्यकता पर्ने छैन।
संघीय संसद सचिवालयले चैत १२ गते नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ कार्यक्रम तय गरेको छ। ज्येष्ठ सदस्यले राष्ट्रपति समक्ष शपथ लिएपछि अन्य सांसदलाई शपथ गराउने व्यवस्था रहेको छ। त्यसपछि संसदीय दलको नेता चयन भई प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।
रास्वपाका शीर्ष नेताहरूबीच सरकार गठनबारे छलफल तीव्र बनेको छ। पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह तथा उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्याल बीच काठमाडौंको दरबारमार्गस्थित रोयल सिङ्गी होटलमा बैठक सम्पन्न भएको छ।
छलफलपछि सांसदहरूको शपथ ग्रहणलगत्तै नयाँ प्रधानमन्त्रीले शपथ लिने सहमति बनेको छ। सोअनुसार चैत १३ गते बालेन्द्र शाहको प्रधानमन्त्री पदको शपथ ग्रहण कार्यक्रम तय गरिएको रास्वपा उपसभापति स्वर्णिम वाग्लेले जानकारी दिएका छन्।
संविधानको धारा ९३ अनुसार निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ भने सात दिनभित्र सभामुख र उपसभामुख चयन प्रक्रिया अघि बढाइनेछ।
यसपटकको संसद बैठक सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवनमा बस्ने तयारी गरिएको छ। नेपालको संविधान जारी भएपछि पहिलोपटक एकल बहुमतसहितको सरकार गठन हुन लागेकोले यसलाई राजनीतिक रूपमा ऐतिहासिक घटनाका रूपमा हेरिएको छ।

प्रतिक्रिया