मुम्बई । भारतीय संगीत जगतकी अनुपम स्वरकी धनी आशा भोसलेको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ। मुम्बईस्थित ब्रीच क्यान्डी अस्पताल मा उपचारका क्रममा उनको निधन भएको हो। उनको निधनको पुष्टि उनका छोरा आनन्द भोसलेले गरेका छन्।
मुटु तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो। अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरसहित आइसियुमा राखिएको थियो। केही महिनादेखि उनको स्वास्थ्य अवस्था कमजोर रहँदै आएको बताइएको छ। अन्तिम संस्कार सोमबार गरिने परिवारले जनाएको छ।
सन् १९३३ सेप्टेम्बर ८ मा महाराष्ट्रको सांगलीमा जन्मिएकी आशा भोसले प्रसिद्ध मङ्गेशकर परिवारकी सदस्य हुन्। उनका पिता दीनानाथ मंगेशकरको निधनपछि सानै उमेरमा परिवारको जिम्मेवारी सम्हाल्दै उनले ९ वर्षको उमेरबाटै गायन यात्रा सुरु गरेकी थिइन्। उनकी दिदी लता मंगेशकर सँगै उनले भारतीय पार्श्व गायनमा दशकौंसम्म वर्चस्व कायम गरिन्।
सन् १९४३ मा मराठी चलचित्रबाट गायन सुरु गरेकी उनले १९४८ को हिन्दी फिल्म ‘चुनरिया’ बाट बलिउडमा प्रवेश गरेकी थिइन्। प्रारम्भिक दिनमा ‘क्याबरेट’ र डान्सिङ गीतका लागि चिनिएकी उनले पछि गजल, भजन, पप तथा शास्त्रीय संगीतमा समेत आफ्नो बहुमुखी प्रतिभा प्रस्तुत गरिन्।
उनले ‘दम मारो दम’, ‘चुरा लिया है तुमने जो दिल को’, ‘पिया तू अब तो आजा’ जस्ता चर्चित गीतमार्फत करोडौं श्रोताको मन जितिन्। चलचित्र उमराव जान को ‘दिल चिज क्या है’ र इजाजत को ‘मेरा कुछ सामान’ जस्ता गीतका लागि उनले दुई पटक राष्ट्रिय चलचित्र पुरस्कार जितेकी थिइन्। साथै, उनले सात पटक फिल्मफेयर अवार्ड समेत जितेकी थिइन्।
उनको नाम गिनीज वर्ल्ड रेकर्ड्स मा विश्वकै सबैभन्दा धेरै स्टुडियो रेकर्डिङ गर्ने गायिकाको रूपमा सूचीकृत छ। उनले भारतीय मात्र नभई २० भन्दा बढी भाषामा १२ हजारभन्दा बढी गीत गाएकी छन्, जसमा नेपाली गीतहरू पनि उल्लेखनीय छन्।
व्यक्तिगत जीवनमा पनि उनले धेरै उतारचढाव भोगिन्। १६ वर्षको उमेरमा गणपतराव भोसले सँग विवाह गरेकी उनी घरेलु समस्याका कारण सन् १९६० मा अलग भइन्। पछि उनले प्रसिद्ध संगीतकार आर.डी. बर्मन सँग सन् १९८० मा विवाह गरिन्, जसको सन् १९९४ मा निधन भएको थियो।
उनको निधनसँगै भारतीय मात्र नभई विश्व संगीत क्षेत्रमा ठूलो क्षति पुगेको छ। सामाजिक सञ्जालदेखि विभिन्न क्षेत्रका कलाकारहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। उनको स्वर सधैं अमर रहने विश्वास गरिएको छ।