साँखु,काठमाडौं— पूर्वमन्त्री तथा २०७४ सालमा निर्वाचित प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले नेकपा (एमाले) परित्याग गर्दै नेपाली कांग्रेसमा औपचारिक प्रवेश गरेका छन्। बिहीबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा आयोजित प्रतिज्ञापत्र सम्बन्धी प्रश्नोत्तर कार्यक्रमपछि आयोजित विशेष समारोहमार्फत उनलाई पार्टीमा स्वागत गरिएको हो।
कार्यक्रममा कांग्रेस सभापति गगन थापाले मानन्धरलाई खादा र टीका लगाएर पार्टीमा स्वागत गरेका थिए। प्रश्नोत्तर कार्यक्रममार्फत कांग्रेसको नीतिगत दृष्टिकोण, सुशासन, विकास र समृद्धिको रोडम्यापबारे विस्तृत छलफल भएको थियो। त्यसलगत्तै भएको पार्टी प्रवेश समारोहले राजधानीको राजनीतिक माहोललाई थप तातो बनाएको छ।
मानन्धरले स्थानीय तहदेखि संघीय संसद्सम्मको लामो राजनीतिक अनुभव बोकेका छन्। २०४९ सालमा वडा नम्बर १६ का वडा अध्यक्षका रूपमा राजनीतिक यात्रा सुरु गरेका उनले विभिन्न जिम्मेवारी सम्हाल्दै राष्ट्रिय राजनीतिमा पहिचान बनाएका थिए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी हुँदै उनले संसदमा सक्रिय भूमिका निर्वाह गरेका थिए भने मन्त्रीका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए।
कांग्रेस प्रवेशका क्रममा मानन्धरले देशलाई स्थिरता, सुशासन र विकासतर्फ अघि बढाउन कांग्रेसको नेतृत्व अपरिहार्य रहेको धारणा व्यक्त गरेको स्रोतले जनाएको छ। उनले जनतामाझ विश्वसनीय राजनीतिक विकल्प निर्माणका लागि आफू कांग्रेसमा आबद्ध भएको बताएका छन्।
यसै अवसरमा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी पनि कांग्रेसमा प्रवेश गरेका छन्। त्यस्तै, नेकपा (एमाले) रसुवाका जिल्ला कमिटी अध्यक्ष जनार्दन ढकालसहित ७८ जना नेता–कार्यकर्ता कांग्रेसमा समाहित भएका छन्।
पछिल्लो समय विभिन्न दलका नेता–कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गर्ने क्रम तीव्र बन्दै गएको छ। विश्लेषकहरूका अनुसार आगामी निर्वाचनलाई लक्षित गर्दै दलहरूबीचको राजनीतिक ध्रुवीकरण बढिरहेको सन्दर्भमा यस्तो प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ। कांग्रेस नेतृत्वले भने यसलाई पार्टीप्रति बढ्दो जनविश्वास र वैकल्पिक राजनीतिक शक्तिको संकेतका रूपमा व्याख्या गरेको छ।