नुवाकोटमा भव्य रूपमा सिन्दुरे जात्रा सम्पन्न, हजारौँ भक्तजनको सहभागिता

lawanyasandesh.com

नुवाकोट । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको नुवाकोटको प्रसिद्ध सिन्दुरे जात्रा यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। चैत्र शुक्ल पूर्णिमाको अवसर पारेर मनाइने यस जात्रामा हजारौँ भक्तजन, स्थानीय बासिन्दा तथा विभिन्न स्थानबाट आएका श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहेको थियो।

साततले दरबारस्थित भैरवी मन्दिर केन्द्रित यस जात्राको मुख्य आकर्षणका रूपमा भैरवी माईको खट बाजागाजासहित निकालिएको थियो। परम्पराअनुसार दरबार क्षेत्रबाट सुरु गरिएको रथयात्रा धरमपानी, बाराही, बट्टार, इनारपाटी, बाडाचौतारो हुँदै देवीघाटसम्म पुर्‍याइएको थियो। यात्रा अवधिभर भक्तजनहरूले सिन्दुर खेल्दै नाचगान गरेका थिए भने परम्परागत बाजा, झाँकी तथा सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो।

चैत्र शुक्ल पूर्णिमालाई केन्द्रमा राखेर सञ्चालन हुने यस जात्रा यस बर्ष चैत्र १९ गते भब्य रुपमा सम्पन्न भएको छ यस जात्रा अन्तर्गत भैरवीथान र बुढी देवताको मन्दिर परिसरमा सालको लिङ्गो ठड्याउने, भैरवी माईलाई रथमा राखी देवीघाटसम्म लैजाने, धार्मिक विधिपूर्वक पूजा–आराधना तथा भोग अर्पण गर्ने परम्परा यस वर्ष पनि निरन्तरता दिइएको थियो। देवीघाटमा पूजा तथा स्नान गराएपछि खटलाई पुनः दरबार क्षेत्र फर्काइएको थियो। त्यसक्रममा भैरवीस्थानमा सिन्दुर हाल्ने, स्यावजी बाँड्ने, विभिन्न स्थानमा पूजा–आजा गर्ने तथा अन्त्यमा माथिल्लो र तल्लो लिङ्गो ढाल्ने कार्यक्रम सम्पन्न गरिएको थियो।

जात्राभरि दरबार क्षेत्र धार्मिक आस्था र सांस्कृतिक उल्लासले भरिएको देखिन्थ्यो। सहभागीहरूले भैरवी देवीको दर्शन गरी सुख, शान्ति र समृद्धिको कामना गरेका थिए। साथै जात्राको अवसरमा मेला समेत लागेकाले स्थानीय व्यापारिक गतिविधि पनि उल्लेख्य रूपमा बढेको जनाइएको छ।

सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै नेपाल प्रहरी तथा स्वयंसेवक परिचालन गरिएको थियो। परम्परादेखि चल्दै आएको यो जात्राले धार्मिक आस्था मात्र नभई नुवाकोटको सांस्कृतिक पहिचान संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको स्थानीयको भनाइ छ।

नुवाकोट विदुर निवासी नवराज श्रेष्ठ तथा नजरमान श्रेष्ठका अनुसार वर्षौँदेखि सञ्चालन हुँदै आएको सिन्दुरे जात्रा यस क्षेत्रकै सबैभन्दा ठूलो धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा स्थापित रहेको छ। उनीहरूले परम्परागत विधिअनुसार सम्पन्न भएको यस वर्षको जात्रामा भक्तजनको उत्साहजनक सहभागिताले स्थानीय संस्कृति संरक्षणमा थप ऊर्जा दिएको बताए।

प्रतिक्रिया