रास्वपाका नवनिर्वाचित सांसदहरूलाई ग्वार्कोमा दुई दिने 'संसदीय कक्षा'

lawanyasandesh.com

साँखु,काठमाण्डौं हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक सफलता हात पारेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका लागि विशेष अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। मंगलबारदेखि ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा दुई दिने प्रशिक्षण कार्यक्रम सुरु भएको हो।
​प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट जितेर संसदमा बलियो उपस्थितिको तयारीमा रहेको रास्वपाले आफ्ना जनप्रतिनिधिहरूलाई संसदीय मर्यादा, कार्यप्रणाली र जनताप्रतिको उत्तरदायित्वबारे प्रशिक्षित गराउन यो भेला आयोजना गरेको हो।



विज्ञहरूबाट प्रशिक्षण: के सिक्दैछन् सांसद?
​कार्यक्रमको उद्घाटन पार्टीका उपसभापति एवं संघीय निर्वाचन सम्पादन समितिका संयोजक डोलप्रसाद (डिपी) अर्यालले गर्नुभएको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार पहिलो दिनको सत्रमा अनुभवी कर्मचारी र विज्ञहरूले सांसदहरूलाई प्रशिक्षण दिइरहेका छन्:
संसदीय प्रणाली: संसदका पूर्व सचिव सुरेश अधिकारी र पूर्व कानुन सचिव तोयानाथ अधिकारीले संसदीय संरचना, कार्यप्रणाली र कानुन निर्माणको जटिल प्रक्रियाबारे अनुभव बाँड्नेछन्।
वाचापत्र र उत्तरदायित्व: उपसभापति स्वर्णिम वाग्लेले चुनावी वाचापत्र र सांसदहरूको जिम्मेवारीबारे प्रशिक्षण दिँदै जनतासँग गरिएका बाचाहरूप्रति इमानदार रहन जोड दिनेछन्।

डिजिटल सञ्चार: अध्येता दोभान राईले डिजिटल युगमा नागरिकसँग कसरी प्रभावकारी संवाद गर्ने र सञ्चार सीपको प्रयोग कसरी गर्ने भन्नेबारे प्रशिक्षण दिने कार्यसूची छ।

योगदेखि बजेट निर्माणसम्म
​दोस्रो दिनको सत्र शारीरिक र मानसिक स्फूर्तिका लागि योग र ध्यानबाट सुरु हुनेछ। एलपी भानु शर्माले योगाभ्यास गराएपछि राष्ट्रिय योजना आयोगका पूर्वसचिव तोयानारायण ज्ञवालीले योजना तर्जुमा र बजेट विनियोजनको प्राविधिक पक्षबारे सांसदहरूलाई सिकाउनुहुनेछ।
​चितवन-३ बाट निर्वाचित सांसद सोविता गौतमलगायत अनुभवी सांसदहरूले नयाँ सदस्यहरूलाई आफ्ना अनुभव सुनाउनेछन्। कार्यक्रमको समापन बुधबार दिउँसो १ बजेतिर सभापति रवि लामिछानेको विशेष निर्देशन र सम्बोधनसँगै हुनेछ।

प्रतिक्रिया