डिपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

lawanyasandesh.com

साँखु,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद (डिपी) अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। संघीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार तोकिएको समयभित्र अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
सचिवालयले आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो। सो अवधिमा रास्वपा सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने प्रस्तावक र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तथा भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल समर्थक रहँदै अर्यालले उम्मेदवारी दर्ता गराएका थिए।
यसअघि बिहीबार सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकले अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो। बैठकमा सभापति रवि लामिछानेले अर्याललाई सभामुख बनाउने प्रस्ताव पेश गरेका थिए, जसलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।
२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको १८२ सिट रहेकाले अर्याल सभामुख बन्ने निश्चित भएको थियो। अब आइतबार बस्ने प्रतिनिधिसभा बैठकबाट उनलाई सभामुखमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिनेछ।

प्रतिक्रिया