साँखु,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शाहलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। प्रधानमन्त्री शाह नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ र सबै मन्त्रीहरूले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्।
नवनियुक्त मन्त्रिपरिषद्मा स्वर्णिम वाग्ले अर्थमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुधन गुरूङ गृहमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, सोबिता गौतम कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, बिक्रम तिमल्सिना सूचना तथा सञ्चारमन्त्री, सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री, सस्मित पोखरेल शिक्षा, युवा तथा खेलकुदमन्त्री, प्रतिभा रावल संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, गनेश (खड्गराज) पौडेल पर्यटन तथा संस्कृतिमन्त्री, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायातमन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री, दीपक कुमार साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा गीता चौधरी कृषि तथा पशुपन्छी विकासमन्त्री नियुक्त भएका छन्।
अर्थमन्त्री बनेका स्वर्णिम वाग्ले तनहुँ–२ बाट निर्वाचित सांसद हुन्। अर्थशास्त्रमा विद्यावारिधि गरेका वाग्लेले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी), विश्व बैंक, काठमाडौं विश्वविद्यालय लगायत संस्थामा काम गरेका छन्। उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत हुन्। आर्थिक सुधार, उत्पादनमूलक लगानी र निजी क्षेत्र प्रवर्द्धनमा जोड दिँदै आएका वाग्लेले अर्थतन्त्र विस्तारलाई प्राथमिकतामा राख्ने बताएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनाल काठमाडौं–६ बाट निर्वाचित सांसद हुन्। ‘टिच फर नेपाल’ का संस्थापक खनाल यसअघि शिक्षामन्त्रीसमेत भइसकेका छन्। सार्वजनिक नीतिशास्त्रमा अध्ययन गरेका उनले अन्तर्राष्ट्रिय सम्बन्ध र शिक्षासुधारका क्षेत्रमा काम गरेका छन्।
गृहमन्त्री बनेका सुधन गुरूङ गोरखा–१ बाट निर्वाचित सांसद हुन्। ‘हामी नेपाल’ का संस्थापक अध्यक्षसमेत रहेका गुरूङ सामाजिक अभियानमार्फत चर्चामा आएका नेता हुन्। २०७२ सालको भूकम्पका बेला राहत तथा उद्धारमा सक्रिय रहेका उनले पछिल्ला राजनीतिक समन्वय प्रक्रियामा पनि भूमिका निर्वाह गर्दै आएका थिए।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल काठमाडौं महानगरपालिकामा बालेन शाहको विकास विज्ञका रूपमा काम गरिसकेका व्यक्ति हुन्। उनलाई पूर्वाधार विकासलाई तीव्रता दिने जिम्मेवारी दिइएको छ। ऊर्जा मन्त्रालयको जिम्मेवारी विराजभक्त श्रेष्ठले सम्हालेका छन् भने सूचना तथा सञ्चार मन्त्रालयमा डा. बिक्रम तिमल्सिना नियुक्त भएका छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादी वादी समुदायबाट मन्त्री बन्ने पहिलो प्रतिनिधि हुन्। सीमान्तकृत समुदायको प्रतिनिधित्व गर्दै उनी सरकारमा पुगेकी छन्। शिक्षा, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल युवा नेतृत्वका रूपमा चिनिएका छन् भने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएकी नेतृ हुन्।
स्वास्थ्य मन्त्रालयको जिम्मेवारी निशा मेहताले पाएकी छिन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय दीपक कुमार साहलाई दिइएको छ भने कृषि तथा पशुपन्छी विकास मन्त्रालय गीता चौधरीलाई सुम्पिएको छ। पर्यटन तथा संस्कृतिमन्त्री गनेश (खड्गराज) पौडेल साहित्यकारका रूपमा परिचित व्यक्ति हुन्।
प्रधानमन्त्री शाहले युवा नेतृत्व, प्रशासनिक सुधार, सुशासन, आर्थिक पुनरुत्थान र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित मन्त्रिपरिषद् गठन गरिएको बताएका छन्। नयाँ सरकार गठनसँगै आम नागरिकमा सुशासन, विकास र नीतिगत सुधारको अपेक्षा बढेको छ। प्रधानमन्त्री शाह नेतृत्वको ‘विज्ञ टोली’ ले प्रशासनिक सुधार र आर्थिक समृद्धिमा केन्द्रित हुने विश्वास गरिएको छ।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र विकासका समाचारका लागि लावण्य सन्देश हेर्दै गर्नुहोला।