शंखरापुर, काठमाडौँ — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा फोनिजको २७औँ स्थापना दिवसका अवसरमा साँखु–बज्रयोगिनी–मणिचूड दह पदयात्रा तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
शनिबार आयोजित कार्यक्रममा फोनिजमा आबद्ध पत्रकार, स्थानीय जनप्रतिनिधि तथा विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिसहित ६८ जनाको सहभागिता रहेको थियो। साँखुमा भेला भएका सहभागीले बज्रयोगिनी मन्दिर दर्शन गरी विभिन्न मन्दिर तथा गुम्बा परिसरमा वृक्षरोपण गर्दै करिब १७ किलोमिटर पदयात्रापछि मणिचूड दह पुगेका थिए।
मणिचूड दहमा आयोजित औपचारिक कार्यक्रममा वक्ताहरूले धार्मिक तथा सांस्कृतिक पर्यटनको विकास र सम्पदा संरक्षणमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।
शंखरापुर नगरपालिका–८ का वडाध्यक्ष पोते थिङले प्रचारप्रसार र आवश्यक व्यवस्थापनको अभावमा महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल मणिचूड दह अझै ओझेलमा परेको बताउनुभयो। उहाँले मणिचूड क्षेत्रका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको धारणा राख्नुभयो।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार वाइबाले मणिचूड दह हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि समान रूपमा पवित्र तीर्थस्थल रहेको बताउँदै यसको धार्मिक तथा सांस्कृतिक महत्वलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो।
राष्ट्रिय शहीद तथा शान्ति स्मारक पार्क र गोकर्ण यज्ञडोल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुदर्शन सिग्देलले वन, जंगल, जल र जमिन संरक्षणमा आदिवासी जनजाति समुदायको परम्परागत ज्ञान र अभ्यास महत्वपूर्ण रहेको बताउनुभयो।
फोनिज बागमती प्रदेश समितिका महासचिव राजु नापितले फोनिजले पत्रकारहरूको पेसागत हकहितसँगै भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा समेत योगदान दिँदै आएको बताउनुभयो। फोनिज संघीय समितिका सचिव सुनिल महर्जनले मणिचूड पदयात्राले धार्मिक तथा प्राकृतिक सम्पदाको अध्ययन र अनुसन्धानका नयाँ आयाम पहिचान गर्न सहयोग पुगेको बताउँदै पत्रकारितामार्फत यसको प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
फोनिज काठमाडौँ जिल्ला समितिका अध्यक्ष भीमबहादुर लामाले सामाजिक एकता र सद्भाव कायम गर्दै स्थापना दिवसलाई रचनात्मक रूपमा मनाउने उद्देश्यले पदयात्रा तथा वृक्षरोपण आयोजना गरिएको बताउनुभयो। उहाँले साँखु, बज्रयोगिनी र मणिचूड क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई पत्रकारितामार्फत उजागर गर्न कार्यक्रम उपयोगी भएको उल्लेख गर्नुभयो।
अध्यक्ष लामाले आदिवासी जनजाति समुदायको थातथलो, संस्कृति र पहिचानसँग जोडिएका विषयमा राज्यका विकास आयोजना तथा राष्ट्रिय निकुञ्जसम्बन्धी व्यवस्थाका कारण स्थानीय समुदाय प्रभावित भइरहेको भन्दै संरक्षण र विकासबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रम फोनिज काठमाडौँ जिल्ला कार्यसमितिका सचिव रत्नमान महर्जनले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा नेपाल प्रहरीका पूर्व डिआइजी देउती गुरुङ, नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाकी उपाध्यक्ष कान्ति न्यौपाने, गोकर्णेश्वर नगरपालिका–८ का वडा सदस्य सुमन लामा, मणिचूड मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम घ्लानलगायतको उपस्थिति थियो।
पदयात्रासँगै गरिएको वृक्षरोपणले वातावरण संरक्षण, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन र स्वस्थ जीवनशैलीको सन्देश दिएको आयोजकले जनाएको छ।