शंखरापुर, काठमाडौं — पवित्र तीर्थस्थल शंखरापुरस्थित सालिनदीबाट पवित्र जल संकलन गरी भगवान् पशुपतिनाथमा जलाभिषेक गर्ने परम्पराअनुसार यस वर्षको बोलबम जलयात्रा आइतबार रातिदेखि तेस्रो सोमवारको लागी सुरु भएको छ। सोमबार पशुपतिनाथमा महादेवलाई जल अर्पण गरिने यस यात्रामा करिब १० हजार शिवभक्त सहभागी हुने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
जलयात्राको शुभारम्भ शंखरापुर नगरपालिका–६ स्थित सलम्बुटार मन्दिर परिसरमा आयोजित विशेष धार्मिक समारोहबीच गरिएको हो। ओम बोलबम काँवारिया संघका अध्यक्ष रामवरण यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल सरकारका उपसभामुख रुबि (रुबिया) ठाकुर तथा विशिष्ट अतिथिका रूपमा शंखरापुर नगरपालिकाकी उपप्रमुख समिता श्रेष्ठ र नगर प्रवक्ता एवं वडा नं. ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष तथा नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले विगत ८–१० वर्षदेखि काँवरिया भक्तजनको सेवामा निरन्तर समर्पित रहँदै आएको स्मरण गर्दै हरेक वर्ष भक्तजनको संख्या उल्लेखनीय रूपमा वृद्धि भइरहेको बताए। सालिनदी र सलम्बुदेवीको धार्मिक महत्त्वसँग शंखरापुरलाई राष्ट्रिय रूपमा चिनाउन यस अभियानले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र धार्मिक पर्यटन प्रवर्द्धनमा बोलबम जलयात्राले सकारात्मक योगदान पुर्याइरहेको धारणा व्यक्त गरे।
उपप्रमुख समिता श्रेष्ठले पशुपतिनाथको दर्शनसँगै शंखरापुरस्थित ऐतिहासिक महादेवस्थानमा रहेको ३४औँ ज्योतिर्लिङ्गेश्वरको दर्शन गर्न भक्तजनलाई आग्रह गरिन्। शंखरापुर धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाले सम्पन्न क्षेत्र भएकाले यसको संरक्षण र प्रचार–प्रसारमा सबैको साझा प्रयास आवश्यक रहेको उनले बताइन्।
प्रमुख अतिथि रुबि (रुबिया) ठाकुरले काँवरिया भक्तजनको अटल श्रद्धा, कठिन तपस्या र भगवान् शिवप्रतिको समर्पणको प्रशंसा गर्दै पहिलो पटक सालिनदीको दर्शन गर्न पाएकोमा आफू अत्यन्त हर्षित भएको बताइन्। उनले शंखरापुरमा रहेका धार्मिक धरोहरहरूको संरक्षण र प्रवर्द्धनमा स्थानीय समुदाय तथा नगरपालिकाले खेलेको भूमिकाको सराहना गर्दै सम्पूर्ण भक्तजनको यात्रा सफल, सुरक्षित र मंगलमय होस् भन्ने शुभकामना व्यक्त गरिन्।
विगत ८–१० वर्षअघि सुरु भएको सालिनदीबाट पवित्र जल उठाएर पशुपतिनाथमा चढाउने परम्परामा प्रत्येक वर्ष भक्तजनको सहभागिता उल्लेखनीय रूपमा बढ्दै गएको छ। यस वर्ष पनि देशका विभिन्न जिल्लाबाट हजारौँ काँवरिया शंखरापुर पुगेका छन्। करिब १० हजार भक्तजन सहभागी गराउने लक्ष्य रहेको मूल आयोजक समितिका अध्यक्ष रामवरण यादवले जानकारी दिए।
हिन्दू धर्मावलम्बीका लागि साउन महिना भगवान् शिवको विशेष आराधनाको पवित्र समय मानिन्छ। यस अवधिमा काँवरमा पवित्र जल बोकी शिवलिङ्गमा जलाभिषेक गर्दा सुख, शान्ति, समृद्धि तथा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ।
कार्यक्रमका अवसरमा नेपाल कुराबाहा कल्याण समाजले बोलबम यात्रामा सहभागी सम्पूर्ण शिवभक्तलाई निःशुल्क हलुवा तथा प्रसाद वितरण गरेको थियो। आयोजकका अनुसार यस वर्षको जलयात्राले शंखरापुरको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप उचाइमा पुर्याउनुका साथै धार्मिक पर्यटन, स्थानीय अर्थतन्त्र र सामाजिक सद्भाव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।