२००९ सालदेखि सुरु भएको साँखुको बुद्धिचाल इतिहासलाई निरन्तरता

lawanyasandesh.com

शंखरापुर(साँखु), काठमाण्डौं। विसं २००९ सालमा साँखुको साल्खा टोलस्थित उग्रतारा पुस्तकालयमा भिष्म ज्वाला राजोपाध्यायले आयोजना गर्नुभएको (त्यो समयावधि भन्दा पहिले कुनै प्रतियोगिता भएको रेकर्ड नपाए सम्म )सम्भवतः नेपालको पहिलो बुद्धिचाल प्रतियोगिताको ऐतिहासिक विरासतलाई स्मरण गर्दै शंखरापुरमा आयोजित खुला बुद्धिचाल प्रतियोगिता आइतबार सम्पन्न भएको छ। साँखुको ऐतिहासिक बुद्धिचाल परम्परालाई निरन्तरता दिने उद्देश्यसहित आयोजित ‘ज्यापू महागुथि नेपाः सक्वो ओपन फिडे र्‍यापिड रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८३’ को उपाधि राजन पुरीले जित्नुभएको छ।


शंखरापुर नगरपालिका–७, साँखुको सालिनदी रोडस्थित समरा गार्डेन रिसोर्टमा ज्यापू महागुथि नेपाः सक्वः लागाको आयोजनामा कात्तिक १४ र १५ गते सञ्चालन भएको प्रतियोगितामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट सहभागी १०९ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। नौ चरणको प्रतिस्पर्धापछि प्रतीक सुवेदी द्वितीय र सुरोज महर्जन तृतीय हुनुभएको छ।


प्रतियोगितामा केशव श्रेष्ठ चौथो, नवीन तण्डुकार पाँचौँ, सन्देश श्रेष्ठ छैटौँ, गणेशबहादुर थापा सातौँ, राजीव कार्की आठौँ, पुरुषोत्तम चौलागाईं नवौँ र सत्यम शर्मा दशौँ स्थान हासिल गर्न सफल हुनुभएको छ।

प्रतियोगितामा प्रथम हुने राजन पुरीले २० हजार, द्वितीय प्रतीक सुवेदीले १५ हजार र तृतीय सुरोज महर्जनले १० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ। चौथो हुनेले छ हजार, पाँचौँले पाँच हजार तथा छैटौँदेखि दशौँ स्थानसम्मका खेलाडीले जनही तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा उत्कृष्ट २५ खेलाडीलाई कुल एक लाख सात हजार पाँच सय रुपैयाँ पुरस्कार वितरण गर्ने व्यवस्था गरिएको थियो।


विजयी खेलाडीहरूलाई विभिन्न अतिथिहरूले पुरस्कार वितरण गर्नुभएको थियो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो। चौथो, पाँचौँ र छैटौँ स्थान हासिल गर्ने खेलाडीलाई नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले तथा सातौँ र आठौँ स्थान हासिल गर्ने खेलाडीलाई ज्यापू गुठीका केन्द्रीय अध्यक्ष सत्यनारायण डंगोलले पुरस्कार वितरण गर्नुभएको थियो।


त्यसैगरी विभिन्न विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई शंखरापुर नगरपालिका–७ का वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष सूर्यबहादुर तामाङ,बुद्धि चाल काठमाण्डौका अध्यक्ष तथा दुई पटक प्रथम भैइ सक्नु हुने केशब श्रेष्ठ,ज्यापू महागुथि नेपाः सक्वः लागाका अध्यक्ष किच सिं, प्रतियोगिता खेल संयोजक जीवनमान सिं, नगरपालिकाका खेलकुद समितिका संयोजक श्रीराम श्रीखण्डलगायत अतिथिहरूले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।


प्रतियोगिताका अन्य विधातर्फ शंखरापुर यू–१६ छात्रमा पूर्णबहादुर श्रेष्ठ र छात्रातर्फ करिना श्रेष्ठ उत्कृष्ट हुनुभएको छ। उत्कृष्ट महिला खेलाडीमा डानिशा पुरी, अनरेटेडतर्फ प्रनब श्रेष्ठ र भेट्रानतर्फ आशा नारायण लवट पुरस्कृत हुनुभएको छ।


त्यसैगरी शंखरापुरतर्फ उत्कृष्ट खेलाडीमा प्रथम कृष्ण गोपाल श्रेष्ठ, द्वितीय बाबु राजा श्रेष्ठ र तृतीय जितेन्द्र श्रेष्ठ हुनुभएको छ। रेटिङ समूहअन्तर्गत १९०० मा प्रेम खड्का, १८०० मा सुमन मोक्तान, १७०० मा रोनन सिंह र १६०० मा दीपक धामीले पुरस्कार प्राप्त गर्नुभएको छ। यू–१४ तर्फ सात्विक मान तुलाधर उत्कृष्ट घोषित हुनुभएको छ।


२००९ सालको ऐतिहासिक प्रतियोगिताको स्मरण


समापन समारोहमा शंखरापुर बुद्धिचाल संघका अध्यक्ष कुमार महर्जनले साँखुको बुद्धिचाल खेलको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गर्दै विसं २००९ सालमा भिष्म ज्वाला राजोपाध्यायले साँखुको साल्खा टोलस्थित उग्रतारा पुस्तकालयमा सम्भवतः नेपालकै पहिलो बुद्धिचाल प्रतियोगिता आयोजना गर्नुभएको ऐतिहासिक तथ्य प्रस्तुत गर्नुभयो।


उहाँका अनुसार उक्त प्रतियोगिताले साँखुमा मात्र नभैइ नेपालमै बुद्धिचाल खेलको संगठित सुरुवात र विकासको आधार तयार गरेको थियो। त्यस समयदेखि सुरु भएको खेल परम्परालाई वर्तमान पुस्ताले निरन्तरता दिनु गौरवको विषय भएको उहाँले बताउनुभयो।


अध्यक्ष महर्जनले साँखुको बुद्धिचाल इतिहासलाई केवल स्मरणमा मात्र सीमित नराखी यसको संरक्षण, प्रवर्द्धन र संस्थागत विकासमा नगरपालिका तथा सम्बन्धित खेल संस्थाहरूले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। ऐतिहासिक महत्त्व बोकेको यस खेलको व्यापक प्रचारप्रसार गरी नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने उहाँको भनाइ थियो।


बुद्धिचाल खेललाई संस्थागत रूपमा अघि बढाउनुपर्नेमा जोड

समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख रमेश नापितले यस्ता खेलकुद प्रतियोगिता निरन्तर आयोजना हुन सके युवा पुस्तादेखि ज्येष्ठ नागरिकसम्मको शारीरिक तथा मानसिक स्वास्थ्य र स्फूर्तिमा सकारात्मक योगदान पुग्ने बताउनुभयो। बुद्धिचाल खेलले मानसिक क्षमता, एकाग्रता र निर्णय गर्ने क्षमताको विकासमा सहयोग पुर्‍याउने उल्लेख गर्दै उहाँले यस्ता गतिविधिलाई निरन्तरता दिन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


शंखरापुर नगरपालिका–७ का वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले बुद्धिचाल प्रतियोगितालाई व्यक्तिको नेतृत्व र कार्यकालमा मात्र सीमित नराखी संस्थागत रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो। जनप्रतिनिधि फेरिन सक्ने र नयाँ नेतृत्व निर्वाचित भएर आउन सक्ने भएकाले प्रतियोगिता आयोजक संस्थालाई नगरपालिकामा विधिवत् दर्ता गरी संस्थागत संरचनामार्फत सञ्चालन गर्न सके आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिन सहज हुने उहाँको भनाइ थियो।

फिडे मापदण्डअनुसार नौ चरणमा प्रतिस्पर्धा

फिडे इभेन्ट कोड नम्बर ५०६१३१ अन्तर्गत सञ्चालन भएको प्रतियोगिता दुई हजारभन्दा कम फिडे रेटिङ भएका खेलाडीलाई लक्षित गरी आयोजना गरिएको थियो। स्विस प्रणालीमा नौ चरणमा खेलाइएको प्रतियोगितामा प्रत्येक खेलाडीलाई १० मिनेट समय र प्रतिचाल १० सेकेन्ड थप हुने र्‍यापिड प्रणाली अपनाइएको थियो।

प्रतियोगिताको खेल सञ्चालन तथा निर्णायक व्यवस्थापनमा अन्तर्राष्ट्रिय आर्बिटर ज्ञानेन्द्र खाइजु, सहायक नेसनल आर्बिटर कुमार महर्जन तथा नेसनल आर्बिटर सानुराजा बज्राचार्य र शान्ति धिमालले जिम्मेवारी सम्हाल्नुभएको थियो।

ज्यापू महागुथि नेपाः सक्वः लागाका अध्यक्ष किच सिंको नेतृत्वमा संस्थाले पहिलोपटक आयोजना गरेको प्रतियोगिता शंखरापुर नगरपालिकाको आर्थिक सहयोग तथा सम्बन्धित खेल संस्थाहरूको सहकार्यमा सम्पन्न भएको हो।

२००९ सालदेखि सुरु भएको साँखुको बुद्धिचाल इतिहासलाई नयाँ पुस्तासम्म पुर्‍याउँदै आगामी दिनमा प्रतियोगितालाई नियमित र संस्थागत रूपमा अगाडि बढाउनुपर्ने सन्देशसहित कार्यक्रम भव्य एवं सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया