शंखरापुर, काठमाडौँ ।
कीर्तिपुरको ट्याङ्गलाफाँटस्थित चाँदनी चोक नजिक पार्किङ गरिएको कारभित्र जलेको अवस्थामा मृत फेला परेका ७० वर्षीय औषधि व्यवसायी सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको निष्कर्ष नेपाल प्रहरीले अनुसन्धानपछि निकालेको छ। प्रारम्भिक चरणदेखि रहस्यमय मानिएको घटनामा विस्तृत अनुसन्धान, प्रत्यक्षदर्शीको बयान तथा सिसिटिभी फुटेजको विश्लेषणपछि घटनामा अन्य कसैको संलग्नता नदेखिएको प्रहरीको निष्कर्ष छ।
काठमाडौँ महानगरपालिका–२६ नरदेवी स्थायी घर भएका श्रेष्ठ पछिल्लो समय परिवारसहित कीर्तिपुरस्थित ग्रिन उड भिल्लामा बस्दै आएका थिए। प्रहरीका अनुसार मंगलबार बिहान करिब ११ः२० बजे उनी आफैँले चलाएको बा.५ च ३०३८ नम्बरको कार लिएर ट्याङ्गलाफाँटस्थित चाँदनी चोक पुगेका थिए। सडकबाट केही पर रहेको खाली जग्गामा कार पार्किङ गरेलगत्तै गाडीभित्रबाट आगोको मुस्लो उठेको प्रत्यक्षदर्शीहरूले देखेका थिए।
घटनास्थल नजिक रहेका एक युवक आगो देखेपछि उद्धारका लागि दौडिएका थिए। सिसिटिभी फुटेजमा उनले कारको अगाडिको ढोका खोल्ने प्रयास गरेको देखिन्छ। चालकतर्फको ढोका खोल्ने क्रममा उनको हातसमेत पोलेपछि उनी पछि हटेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्।
प्रहरी घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिँदा श्रेष्ठ चालक सिटमै मृत अवस्थामा फेला परेका थिए। उनको शव बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ।
अनुसन्धानका क्रममा श्रेष्ठ लामो समयदेखि औषधि व्यवसायमा संलग्न रहेको र कोभिड–१९ महामारीपछि व्यापारमा ठूलो घाटा बेहोरेर आर्थिक संकटमा परेको खुलेको छ। पारिवारिक स्रोतका अनुसार व्यापारमा आएको गिरावटका कारण उनी ऋणको भारी बोकेर मानसिक तनावमा थिए।
यातायात व्यवस्था विभागको अभिलेखअनुसार उनले प्रयोग गरेको कार २०६२ साल कार्तिक २७ गते नबिल बैंकबाट ऋण लिएर खरिद गरिएको थियो। उक्त सवारी साधन सुरेशचन्द्र श्रेष्ठ र रजनी श्रेष्ठको नाममा दर्ता रहेको अभिलेखमा उल्लेख छ।
यस घटनापछि सामाजिक सञ्जालमा आर्थिक कठिनाइ, बढ्दो निराशा तथा नागरिकको मानसिक स्वास्थ्यबारे व्यापक बहस सुरु भएको छ। कतिपयले देशको आर्थिक अवस्था र नागरिकमा बढ्दो निराशाप्रति चिन्ता व्यक्त गरेका छन्। यद्यपि यस्ता व्यक्तिगत धारणा स्वतन्त्र अभिव्यक्ति भएकाले घटनाको आधिकारिक कारणका रूपमा पुष्टि भएका छैनन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।