साँखु,काठमाण्डौं। नेपाली कांग्रेसबाट प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला उम्मेदवारका रूपमा बासना थापाले दैलेख क्षेत्र नम्बर–१ मा ऐतिहासिक सफलता हात पारेकी छन्। उनले नेकपा एमाले का उम्मेदवार रविन्द्रराज शर्मा लाई कडा प्रतिस्पर्धामा पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्।
निर्वाचन परिणामअनुसार थापाले १२ हजार ३७२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी शर्माले ११ हजार ७९६ मतमा सीमित भए। अनुभवी नेताहरूबीच भएको प्रतिस्पर्धामा पहिलोपटक संसदीय चुनाव लडेकी थापाको जितलाई विशेष उपलब्धिका रूपमा हेरिएको छ।
दैलेख–१ मा कांग्रेसले लामो अन्तरालपछि आफ्नै चुनाव चिह्न ‘रुख’ बाट उम्मेदवारी दिँदै विजय हासिल गरेको हो। अघिल्ला दुई निर्वाचनमा तालमेलका कारण उम्मेदवारी नदिएको कांग्रेस यसपटक स्वतन्त्र रूपमा मैदानमा उत्रिएको थियो। कार्यकर्ताको उत्साह र संगठनको एकताले उक्त उत्साहलाई मतमा रूपान्तरण गरेको देखिन्छ।
काठमाडौंमा जन्मिएकी थापा विवाहपछि दैलेखमा बसोबास गर्दै स्थानीय स्तरबाटै आफ्नो राजनीतिक यात्रा अघि बढाएकी हुन्। २०५७ सालमा नेपाल विद्यार्थी संघ मार्फत राजनीतिमा प्रवेश गरेकी उनी पछिल्ला वर्षहरूमा पार्टीभित्र सक्रिय भूमिका निर्वाह गर्दै आएकी थिइन्। उनले कांग्रेसका १२औं, १३औं र १४औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यको जिम्मेवारी समेत सम्हालेकी थिइन्।
उनको राजनीतिक प्रेरणाको स्रोत उनका हजुरबुवा नरबहादुर थापा रहेको उनी बताउँछिन्, जो २०१५ सालको निर्वाचनमा सांसद बनेका थिए। पारिवारिक पृष्ठभूमिले राजनीतिमा प्रवेश गर्न ऊर्जा दिएको उनको भनाई छ।
निर्वाचन जितेपछि प्रतिक्रिया दिँदै थापाले जनमतको सम्मान गर्दै सुशासनलाई प्राथमिकता दिने बताएकी छन्। “देशको समृद्धिको मुख्य अवरोध भ्रष्टाचार हो, यसलाई अन्त्य गर्दै पारदर्शी प्रशासन निर्माणमा म संसदमा दृढताका साथ आवाज उठाउनेछु,” उनले भनिन्।
स्थानीय विकासलाई प्राथमिकतामा राख्दै उनले रोजगारी सिर्जना, महिला सशक्तीकरण तथा पूर्वाधार विकासमा जोड दिने योजना प्रस्तुत गरेकी छन्। पेट्रोलियम उत्खनन, पर्यटन प्रवर्द्धन र जलविद्युत् विकासलाई क्षेत्रीय समृद्धिको आधारका रूपमा अघि सार्दै उनले दैलेखलाई सडक सञ्जालमार्फत थप जोड्ने प्रतिबद्धता जनाएकी छन्।
त्यसैगरी जिल्ला अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्ने, महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गर्ने र समान प्रतिनिधित्व सुनिश्चित गर्न कानुनी पहल गर्ने उनको योजना छ। “महिलाको प्रतिनिधित्व ३३ प्रतिशतमा सीमित हुनुहुँदैन, ५० प्रतिशतसम्म पुर्याउनुपर्छ,” उनले जोड दिइन्।
कर्णाली प्रदेशबाट प्रत्यक्षतर्फ महिला उम्मेदवार विजयी हुनु सकारात्मक संकेत भएको उल्लेख गर्दै उनले महिला नेतृत्वलाई अझ सशक्त बनाउने दिशामा आफू सक्रिय रहने बताए।