शंखरापुर पनि वायु प्रदूषणबाट अछुतो रहेन

lawanyasandesh.com

साँखु, काठमाडौँ। पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकामा बढेको वायु प्रदूषणको प्रभाव शंखरापुर क्षेत्रसम्म पनि देखिन थालेको छ। प्राकृतिक रूपमा हरियालीले भरिपूर्ण मानिने यो क्षेत्र पनि धुलो–धुवाँयुक्त वातावरणबाट पूर्ण रूपमा मुक्त रहन सकेको छैन।



शंखरापुर नगरपालिकाको करिब ६८ प्रतिशत भूभाग कृषि क्षेत्र र २८ प्रतिशत बन–जङ्गलले ढाकेको छ। हरियाली र खुला भू–भागका कारण तुलनात्मक रूपमा स्वच्छ वातावरण रहने अपेक्षा गरिए पनि काठमाडौँ उपत्यकामा जम्मा हुने प्रदूषित हावा साँखु क्षेत्र हुँदै जहर्सिंह पौवा र कार्तिकेतर्फबाट बाहिरिने भएकाले यस भेगमा पनि प्रदूषणको असर देखिन थालेको अनुमान गरिएको छ। पछिल्ला दिनहरूमा बिहान–बेलुका आकाश धमिलो देखिनु, टाढाका पहाड प्रष्ट नदेखिनु तथा वातावरणमा धुलो–धुवाँको मात्रा बढेको अनुभव स्थानीयले गरिरहेका छन्।



मौसमविद्हरूका अनुसार लामो समयदेखि पर्याप्त वर्षा नहुनु, हावाको बहाव कमजोर हुनु तथा वायुमण्डलमा धुलो–धुवाँ थुनिएर बस्ने अवस्थाका कारण उपत्यकामा प्रदूषण बढेको हो। यस्तै अवस्था अझै केही दिन कायम रहने सम्भावना रहेको मौसम विभागले जनाएको छ।



वायु गुणस्तर बिग्रँदा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूलाई बढी असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन्।
हरियाली क्षेत्रका रूपमा चिनिने शंखरापुरसमेत वायु प्रदूषणबाट अछुतो रहन नसक्नुले उपत्यकाभरि बढ्दो प्रदूषण नियन्त्रणका लागि दीर्घकालीन र प्रभावकारी कदम आवश्यक रहेको स्थानीयको भनाइ छ। 

प्रतिक्रिया