साँखु, काठमाण्डौं।“मानवताको एक थोपा, रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने मूल नाराका साथ विश्व रक्तदाता दिवस–२०२६ नेपालमा विभिन्न जनचेतनामूलक, प्रेरणामूलक तथा सम्मान कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) को आयोजनामा सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रमको समापन आइतबार विशेष समारोहबीच सम्पन्न भएको हो।
रक्तदानलाई मानव जीवन बचाउने सबैभन्दा सरल, सुरक्षित र महान् सेवाका रूपमा स्थापित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नियमित रक्तदाता, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता, स्वयंसेवक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
सप्ताहभर विविध कार्यक्रम
विश्व रक्तदाता दिवसको अवसरमा ब्लोदानले साताभर विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो। यसअन्तर्गत बृहत् खुला रक्तदान कार्यक्रम, भक्तपुरका छ जना जनप्रतिनिधिको संयुक्त उपस्थितिमा जनचेतनामूलक र्यालीको उद्घाटन, चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता, महिला स्वयंसेवी रक्तदातासँग अन्तरक्रिया, नेगेटिभ रक्त समूहका रक्तदातासँग विशेष संवाद कार्यक्रम तथा ठमेलदेखि कीर्तिपुरसम्म सञ्चालन गरिएको ‘रक्त सचेतना साइकल र्याली’ विशेष आकर्षणका रूपमा रहेका थिए।
आयोजकका अनुसार यस्ता कार्यक्रमले रक्तदानप्रति समाजमा सकारात्मक सोच विकास गर्नुका साथै युवा पुस्तालाई स्वैच्छिक रक्तदान अभियानमा जोड्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
विशिष्ट व्यक्तित्वको सहभागिता
नेपाल प्रहरीका महानिरीक्षक को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रक्तदान अभियानमा उल्लेखनीय योगदान पुर्याउने रक्तदाताहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा विशेष अतिथिका रूपमा , , तथा लगायत विभिन्न रक्तसञ्चार केन्द्रका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सभापतित्व ब्लोदानका अध्यक्ष राजेश श्रेष्ठले गर्नुभएको थियो भने महासचिव मचाकाजी महर्जनले सञ्चालन गर्नुभएको थियो।
१०१ पटकसम्म रक्तदान गर्ने रक्तदाता सम्मानित
समारोहमा नियमित रक्तदान गर्दै मानव जीवन बचाउने अभियानमा योगदान पुर्याएका रक्तदाताहरूलाई विभिन्न श्रेणीका ‘रक्त पिन’ प्रदान गरी सम्मान गरिएको थियो।
पुरुष रक्तदातामध्ये २५ पटक रक्तदान गर्नेलाई सिल्भर पिन, ५० पटक रक्तदान गर्नेलाई गोल्डेन पिन तथा १०० वा सोभन्दा बढी पटक रक्तदान गर्नेलाई डायमण्ड पिन प्रदान गरिएको थियो। महिला तथा नेगेटिभ रक्त समूहका रक्तदाताहरूलाई १० पटक रक्तदानमा सिल्भर, २५ पटकमा गोल्डेन तथा ५० पटक रक्तदान पूरा गरेपछि डायमण्ड पिन प्रदान गरिएको थियो।
यस वर्षको कार्यक्रममा १०१ पटकसम्म रक्तदान गरिसकेका प्रेरणादायी रक्तदाताहरूलाई समेत विशेष सम्मान गरिएको थियो। उनीहरूलाई डायमण्ड पिन, सम्मानपत्र तथा कदरपत्र प्रदान गर्दै आयोजकले रक्तदान क्षेत्रका आदर्श व्यक्तित्वका रूपमा प्रस्तुत गरेको थियो। वक्ताहरूले यस्ता रक्तदाताहरूको समर्पणले हजारौँ बिरामीको जीवन बचाउन मद्दत पुगेको उल्लेख गर्दै उनीहरूको योगदानलाई मानव सेवाको अनुपम उदाहरणको रूपमा व्याख्या गरेका थिए।
गोकर्णेश्वर–१ निवासी बालकृष्ण श्रेष्ठसहित विभिन्न नियमित रक्तदाताहरूलाई सम्मानपत्र तथा विशेष पिन प्रदान गरिएको थियो। साथै सर्वाधिक पटक रक्तदान गर्ने व्यक्ति, महिला रक्तदाताको उल्लेखनीय सहभागिता सुनिश्चित गर्ने समूह, एकै रक्तदान शिविरमा सर्वाधिक रगत संकलन गर्ने संघसंस्था तथा धार्मिक संस्थाहरूलाई ‘रनिङ सिल्ड’ प्रदान गरी सम्मान गरिएको थियो।
रक्तदान संस्कृतिको विकासमा जोड
कार्यक्रममा बोल्दै वक्ताहरूले नेपालमा अझै पनि रगत अभावका कारण धेरै बिरामी प्रभावित हुने गरेको उल्लेख गर्दै स्वैच्छिक रक्तदानलाई सामाजिक अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्दा आफ्नै स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने र बिरामीका लागि नयाँ जीवनको आधार बन्ने बताए।
ब्लोदानको योगदान
ब्लोदानले प्रदर्शन मार्ग, काठमाण्डौंस्थित कार्यालयमार्फत लामो समयदेखि रक्तदानसम्बन्धी सेवा तथा समन्वय गर्दै आएको छ। अन्तर्राष्ट्रिय रक्तदाता संगठन महासंघ (IFBDO) मा आबद्ध संस्थाले आवश्यक परेका बिरामीलाई विना शोधभर्ना रगत उपलब्ध गराउने मानवीय अभियान सञ्चालन गर्दै आएको जनाएको छ।
विश्व रक्तदाता दिवस–२०२६ को अवसरमा आयोजित कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै समाजमा स्वैच्छिक रक्तदान संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्। सहभागीहरूले रक्तदानलाई जीवनदानको रूपमा ग्रहण गर्दै स्वस्थ नागरिकलाई नियमित रक्तदान अभियानमा जोडिन आह्वान गरेका थिए।