बाढीले बगाएर ल्याएको सेफ फुटाई नगद निकाल्ने २९ जना पक्राउ

lawanyasandesh.com

शंखरापुर,काठमाण्डौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको बैंकको सेफ फुटाई त्यसभित्र रहेको नगद निकालेर लगेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङले शनिबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जनाएको हो।

प्रहरीका अनुसार बाढीले बगाएर ल्याएको उक्त सेफ धादिङको गल्छी गाउँपालिका–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको थियो। स्थानीयवासीसहित केही व्यक्तिले सेफ तोडफोड गरी त्यसभित्र रहेको नगद आफूखुसी निकालेर लगेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

घटनाको अनुसन्धान तथा विभिन्न स्थानमा गरिएको खानतलासीका क्रममा प्रहरीले २९ जनालाई पक्राउ गरी उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो।

पक्राउ पर्नेमा गल्छी गाउँपालिका–४ मासटारका पवन पौडेल, वीरबहादुर रानामगर, विनोद गिरी, नवराज भेटुवाल, पूर्णलाल श्रेष्ठ, विष्णुमणि अधिकारी, कृष्ण मगर, शिवबहादुर रानामगर, युवराज अधिकारी, सुचिमबहादुर रानामगर, सविन श्रेष्ठ, प्रेमबहादुर रानामगर, अनिल भेटुवाल, रामशरण सुवेदी, मिनबहादुर रानामगर, देवेन्द्र रानामगर, दीपक तामाङ, राजकुमार भेटुवाल, दिनेश अधिकारी, दिनेश पुलामी, टेकबहादुर रानामगर र सन्तोष श्रेष्ठ रहेका छन्।

त्यस्तै गल्छी–६ आदमघाटका सुसान्त श्रेष्ठ, नारायण श्रेष्ठ र अग्नि आलेमगर, गल्छी–८ सिमपानीका सानुभाइ श्रेष्ठ, सिद्धलेक गाउँपालिका–७ आदमटारका सानुभाइ श्रेष्ठ, चितवनको राप्ती नगरपालिका–६ घर भई हाल आदमघाट बस्दै आएका विचारी आलेमगर तथा पर्साको बहुदरमाई नगरपालिका–९ घर भई हाल आदमघाट बस्ने सकुर अन्सारीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार बरामद रकमको स्रोत तथा सेफमा रहेको कुल रकमबारे अझै यकिन भइसकेको छैन। घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने भएकाले सम्भावित संलग्न व्यक्तिको खोजी तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले बताउनुभयो।

बाढीले बगाएर ल्याएको सेफ तथा त्यसमा रहेको नगद भेटिएपछि त्यसलाई कानुनी प्रक्रियाअनुसार सम्बन्धित निकायमा बुझाउनुको सट्टा तोडफोड गरी रकम निकालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि घटनाको प्रकृति र बरामद रकमको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया