अन्तर्राष्ट्रिय बजारको प्रभाव : पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती

lawanyasandesh.com

शंखरापुर, काठमाण्डौं।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावट र भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य घटेर आएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय कटौती गरेको छ। करिब दुई सातापछि गरिएको मूल्य समायोजनसँगै पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यास सबै सस्तो भएका छन्।


नेपाल आयल निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले घटाउने निर्णय गरेको हो। यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ र काठमाण्डौंका लागि अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले मूल्य घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको निगमले जनाएको छ।

नयाँ मूल्यसूचीअनुसार तेस्रो वर्गअन्तर्गत काठमाण्डौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १९५ रुपैयाँ कायम भएको छ। पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेल १९२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ। दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोल १९६ रुपैयाँ र डिजेल तथा मट्टितेल १९४ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।

आन्तरिक हवाई इन्धनको नयाँ मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम भएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाण्डौंका लागि प्रतिकिलोलिटर एक हजार ५६६ अमेरिकी डलर, पोखराका लागि एक हजार १०० अमेरिकी डलर र भैरहवाका लागि एक हजार ८५ अमेरिकी डलर तोकिएको छ।

त्यसैगरी, १४.२ किलोग्रामको खाना पकाउने एलपी ग्यास अब प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँमा उपलब्ध हुनेछ। यसअघि यसको मूल्य दुई हजार १६० रुपैयाँ थियो।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तन र आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको हो। पछिल्लो मूल्य घटेसँगै दैनिक उपभोगका वस्तुको ढुवानी लागतमा केही कमी आउने र उपभोक्ताले प्रत्यक्ष राहत महसुस गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया