साँखु, काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्ला केही दिनदेखि बढ्दै गएको वायु प्रदूषणले जनजीवनलाई निकै प्रभावित बनाइरहेको थियो। आकाश धमिलो देखिनु, टाढाका पहाडहरू प्रष्ट नदेखिनु, बिहान–बेलुका हावामा धुलो र धुवाँको मात्रा बढ्नु जस्ता अवस्थाले उपत्यकावासी मात्र होइन, हरियालीले भरिएको शंखरापुर क्षेत्रका बासिन्दासमेत चिन्तित बनेका थिए। यस्तै अवस्थामा अहिले बेलुका असिनासहित सुरु भएको वर्षाले वातावरण सुधारको आशा जगाएको छ।
शंखरापुर नगरपालिका प्राकृतिक दृष्टिले उपत्यकाकै एक महत्वपूर्ण हरित क्षेत्र मानिन्छ। यहाँको करिब ६८ प्रतिशत भूभाग कृषि क्षेत्र र करिब २८ प्रतिशत बन–जङ्गलले ढाकिएको छ। यति धेरै हरियाली हुँदाहुँदै पनि काठमाडौँ उपत्यकामा जम्मा हुने प्रदूषित हावाको प्रभाव यस क्षेत्रमा देखिनु दुःखद पक्ष हो। उपत्यकाको भौगोलिक बनावटका कारण यहाँ जम्मा हुने प्रदूषित हावा साँखु हुँदै जहरर्सिंपौवा र कार्तिके क्षेत्रतर्फ बाहिरिने भएकाले शंखरापुर क्षेत्र पनि यसको असरबाट पूर्ण रूपमा जोगिन सकेको छैन।
यसबीच अहिले परेको वर्षाले भने केही राहतको संकेत दिएको छ। वर्षाले वायुमण्डलमा थुप्रिएका धुँलो तथा हानिकारक कणहरूलाई पखाल्ने भएकाले वातावरण स्वच्छ बन्ने अपेक्षा गरिएको छ। यदि वर्षापछि मौसम खुला भयो भने शंखरापुरका मणिचुड, कार्तिके तथा जहर्सिंपौवा आसपासका स्थानबाट हिमशृङ्खलाका मनमोहक दृश्यहरू पुनः प्रष्ट देखिने सम्भावना पनि बढेको छ। यो केवल प्राकृतिक सौन्दर्यको पुनरागमन मात्र होइन, वातावरणीय सुधारको संकेत पनि हो।
तर वर्षाले केही समयका लागि मात्र राहत दिन सक्छ। दीर्घकालीन रूपमा वायु प्रदूषण नियन्त्रण गर्न राज्य, स्थानीय सरकार र नागरिक सबैको सक्रिय भूमिका आवश्यक हुन्छ। सवारीसाधनको अत्यधिक प्रयोग, निर्माण कार्यबाट उड्ने धुलो, फोहोर व्यवस्थापनको कमजोरी तथा वन क्षेत्रको संरक्षणमा देखिएको ढिलाइ जस्ता कारणहरूलाई गम्भीरतापूर्वक समाधान नगरेसम्म समस्या पुनः दोहोरिने सम्भावना रहन्छ।
त्यसैले अहिलेको वर्षालाई केवल मौसमीय घटना मात्र नभई प्रकृतिले दिएको चेतावनीका रूपमा पनि लिनु जरुरी छ। स्वच्छ वातावरण मानव स्वास्थ्यका लागि अत्यावश्यक छ। यदि आजैबाट प्रदूषण नियन्त्रणका ठोस कदम चालिए भने शंखरापुर जस्ता हरित क्षेत्रहरूले उपत्यकालाई स्वच्छ हावा दिन महत्वपूर्ण भूमिका खेल्न सक्छन्।
प्रकृतिले दिएको यो सानो राहतलाई अवसरका रूपमा लिएर वातावरण संरक्षणमा सबै पक्ष गम्भीर बन्ने हो भने मात्र उपत्यकाको आकाश फेरि नीलो र स्वच्छ देखिनेछ।