मोदीले रवि लामिछाने र बालेन शाहसँग गरे टेलिफोन वार्ता, निर्वाचन सफलतामा बधाई

lawanyasandesh.com

साँखु, काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रवि लामिछाने र बालेन्द्र शाहसँग टेलिफोन संवाद गरेका छन्।
प्रधानमन्त्री मोदीले सोमबार आफ्नो सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गर्दै नेपालमा हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि उनीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेको बताएका हुन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीले हासिल गरेको उल्लेखनीय सफलताको प्रशंसा गर्दै आगामी सरकार गठन र नेतृत्वको जिम्मेवारीका लागि पनि शुभकामना दिएका छन्।
मोदीले दुवै नेतासँग भएको वार्तालाई ‘न्यानो र सकारात्मक’ भएको उल्लेख गर्दै नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउँदै लैजान भारत प्रतिबद्ध रहेको सन्देश दिएको बताएका छन्। उनले आपसी सहकार्य, विकास र समृद्धिका साझा लक्ष्यलाई अघि बढाउँदै दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, “दुवै देशको प्रगति, समृद्धि र जनकल्याणका लागि भारत नेपालसँग सहकार्य गर्न सदैव तयार छ। हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा नेपाल र भारत बीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनेछ भन्नेमा म विश्वस्त छु।”
नेपालको पछिल्लो राजनीतिक परिदृश्यमा नयाँ शक्ति उदाएको सन्दर्भमा भएको यो संवादलाई दुई देशबीचको कूटनीतिक तथा राजनीतिक सम्बन्धलाई थप मजबुत बनाउने संकेतका रूपमा पनि हेरिएको छ।

प्रतिक्रिया