शंखरापुर, काठमाडौं — सुनसरीको देवानगञ्ज क्षेत्रमा उत्पन्न धार्मिक तथा साम्प्रदायिक तनावपछि विकसित परिस्थितिबारे छलफल गर्न आयोजित सर्वदलीय बैठकले राष्ट्रिय संकटका बेला सरकार, राजनीतिक दल, सञ्चारमाध्यम, धार्मिक नेतृत्व तथा नागरिक समाजबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको आह्वानमा सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाहलमा सम्पन्न बैठकमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले देशको वर्तमान अवस्थालाई साझा चुनौतीका रूपमा व्याख्या गर्दै प्रधानमन्त्रीले सबै राजनीतिक शक्ति र सरोकारवालालाई समेटेर नेतृत्व गर्नुपर्नेमा जोड दिएका हुन्।
बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय संकटका बेला राजनीतिक दलहरू सरकारका प्रतिद्वन्द्वी नभई सहकार्य गर्ने साझेदार भएको स्पष्ट पार्दै प्रधानमन्त्रीले ‘टिम प्लेयर’को भूमिकामा प्रस्तुत हुनुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “देश अप्ठ्यारो अवस्थामा हुँदा हामी सरकारका विपक्षी होइनौँ, एउटै टोलीका सदस्य हौँ। प्रधानमन्त्रीले सबैलाई विश्वासमा लिएर साझा प्रयासको नेतृत्व गर्नुपर्छ। एक्लैले सबै जिम्मेवारी वहन गर्न सकिन्छ भन्ने सोच संकट व्यवस्थापनका लागि पर्याप्त हुँदैन।”
थापाले विगतमा भूकम्प, कोभिड–१९ महामारीलगायत राष्ट्रिय विपत्तिका समयमा सरकारले सर्वदलीय बैठक आह्वान गरी साझा रणनीति निर्माण गर्ने अभ्यास रहेको स्मरण गराउँदै वर्तमान परिस्थितिमा पनि त्यही समन्वयात्मक अभ्यास आवश्यक रहेको उल्लेख गर्नुभयो। राष्ट्रिय हितसँग सम्बन्धित विषयमा दलगत मतभेदभन्दा राष्ट्रिय एकता र सहकार्यलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो।
उहाँले संकटका बेला प्रधानमन्त्रीले सञ्चारमाध्यमसँग नियमित संवाद गरी आधिकारिक सूचना प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याउँदै सही सूचना सम्प्रेषणले अफवाह नियन्त्रण, जनविश्वास अभिवृद्धि तथा सामाजिक सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। धार्मिक नेता, समुदायका अगुवा तथा नागरिक समाजको प्रभावलाई समेत सकारात्मक रूपमा परिचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
बैठकमा सहभागी दलहरूले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै राजनीतिक दलका स्थानीय संरचना, जनप्रतिनिधि तथा कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। समुदायमा फैलिन सक्ने भ्रम, उत्तेजना र अफवाह नियन्त्रण गर्दै संयमित वातावरण निर्माण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा बैठकले जोड दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान परिस्थितिको गम्भीरतालाई मध्यनजर गर्दै सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा राज्यका निकायले साझा रूपमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न पहल गर्नुपर्ने बताउनुभयो। उहाँले स्थानीय तहसम्म संयुक्त सन्देश प्रवाह गरी धार्मिक सहिष्णुता र सामाजिक एकतालाई सुदृढ बनाउन सबै पक्षलाई आह्वान गर्नुभयो।
बैठकमा सहभागी नेताहरूले सरकारले अघि सारेको सुशासनको अवधारणालाई व्यवहारमा प्रभावकारी बनाउन प्रशासनिक सक्रियता, पारदर्शी सूचना प्रवाह, कानुनी शासनको दृढ कार्यान्वयन तथा सामाजिक सद्भाव संरक्षणलाई समान प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन्। राष्ट्रिय संकटका बेला प्रधानमन्त्रीले सम्पूर्ण नागरिकलाई अभिभावकीय अनुभूति दिलाउने गरी समन्वयकारी, उत्तरदायी र समावेशी नेतृत्व प्रदर्शन गर्नुपर्ने उनीहरूको जोड थियो।
बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहेको थियो।
बैठकले सुनसरीको देवानगञ्जलगायत तनाव प्रभावित क्षेत्रमा शान्ति, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा कानुनी शासन कायम राख्न सम्पूर्ण नागरिकलाई संयमित रहन र कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधिबाट टाढा रहन संयुक्त रूपमा अपिल गरेको छ।