प्रेस स्वतन्त्रता र लोकतन्त्र एकअर्काका पूरक हुन्, भ्रम र मिथ्याका विरुद्ध पत्रकारहरू सतर्क रहनुपर्छ : नेपाली काङ्ग्रेस नेता अर्जुन नरसिंह केसी

lawanyasandesh.com

साँखु काठमाण्डौं। नेपाल प्रेस युनियनको ३५ औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित विशेष समारोहका वक्ताहरूले प्रेस स्वतन्त्रता, लोकतन्त्र र सत्यतथ्य पत्रकारिता एकअर्काका पूरक रहेको बताएका छन्। कार्यक्रममा लोकतन्त्रको संरक्षण, नागरिकको सूचनाको अधिकार तथा समाजमा बढ्दो भ्रम र मिथ्या सूचनाविरुद्ध सञ्चारकर्मीहरूले अझ जिम्मेवार र सतर्क भूमिका निर्वाह गर्नुपर्नेमा विशेष जोड दिइयो।

नेपाल प्रेस युनियन केन्द्रीय समितिको आयोजनामा सम्पन्न प्रभातफेरी तथा विधान सभा समुद्घाटन समारोहमा बोल्दै नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीले लोकतन्त्रविना स्वतन्त्र पत्रकारिताको कल्पना गर्न नसकिने उल्लेख गरे। उनले पत्रकारिता केवल समाचार सम्प्रेषणको माध्यम नभई लोकतन्त्रको रक्षा गर्ने महत्त्वपूर्ण आधारस्तम्भ भएको धारणा व्यक्त गरे।

उनले भने,
"कुनै पनि पत्रकार निष्पक्ष, पारदर्शी र सुसूचित गर्ने हो भने त्यो लोकतन्त्रवादी बाहेक अरू हुनै सक्दैन। लोकतन्त्रले मात्रै हरेक व्यक्तिलाई लेख्ने, पढ्ने, विचार अभिव्यक्ति गर्ने र सङ्गठन गर्ने स्वतन्त्रता दिन्छ। जहाँ लोकतन्त्र छैन, त्यहाँ पत्रकारिताको कलम चल्दैन। त्यसकारण प्रत्येक पत्रकार स्वयम् लोकतन्त्रवादी हो।"
कार्यक्रममा सहभागी वक्ताहरूले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल माध्यममार्फत फैलाइने भ्रामक सूचना, अफवाह र नियोजित प्रचार सामग्रीले समाजमा नकारात्मक प्रभाव पारिरहेको भन्दै त्यसको तथ्यगत परीक्षण गरी सत्य सूचना सम्प्रेषण गर्नु पत्रकारहरूको प्रमुख दायित्व भएको बताए।

प्रभातफेरीदेखि विधान सभा समुद्घाटनसम्म उत्साहपूर्ण सहभागिता

स्थापना दिवसको अवसरमा आज बिहान ७ बजे काठमाडौँको माइतीघर मण्डलाबाट विशेष प्रभातफेरी आयोजना गरिएको थियो। लोकतन्त्रवादी पत्रकार, सञ्चारकर्मी तथा प्रेस युनियनका नेता–कार्यकर्ताहरूको सहभागितामा सम्पन्न प्रभातफेरी नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा पुगेर विधान सभा समुद्घाटन समारोहमा परिणत भएको थियो।

बिहान १० बजेदेखि सुरु भएको औपचारिक कार्यक्रममा देशभरिबाट आएका नेपाल प्रेस युनियनका प्रतिनिधि, सञ्चारकर्मी, राजनीतिक व्यक्तित्व तथा लोकतन्त्रप्रति आस्था राख्ने विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले प्रेस स्वतन्त्रताको रक्षा, व्यावसायिक पत्रकारिताको प्रवर्द्धन तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए।

प्रेस युनियनको ऐतिहासिक भूमिकाको स्मरण

वि.सं. २०४७ सालको राजनीतिक परिवर्तनपछि लोकतान्त्रिक आन्दोलनलाई वैचारिक तथा संस्थागत रूपमा सुदृढ बनाउने उद्देश्यसहित स्थापना भएको नेपाल प्रेस युनियनले विगत तीन दशकभन्दा बढी समयदेखि प्रेस स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा निरन्तर आवाज उठाउँदै आएको वक्ताहरूले स्मरण गरे।

कार्यक्रममा प्रेस स्वतन्त्रताको पक्षमा संघर्ष गर्ने पत्रकारहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै लोकतन्त्र र मानवअधिकारको संरक्षणमा सञ्चार क्षेत्रले खेलेको भूमिका ऐतिहासिक रहेको उल्लेख गरियो। वक्ताहरूले सत्य, निष्पक्षता र वस्तुगत विश्लेषणमा आधारित पत्रकारिताले मात्रै समाजलाई सही दिशातर्फ डोर्‍याउन सक्ने बताए।

“मिथ्याको थुप्रो बढ्दा सत्य हराउने खतरा”

समारोहमा बोल्ने अधिकांश वक्ताहरूले वर्तमान समयमा ‘फेक न्युज’ र भ्रमपूर्ण प्रचार सामग्री समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गरे। उनीहरूले सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना र दुष्प्रचारका कारण समाजमा अन्योल, अविश्वास र विभाजन सिर्जना हुने खतरा बढेको बताए।

नेता केसीले भने,
"जब मिथ्याको थुप्रो खुल्छ, तब सत्य हराउँछ। अहिले समाजमा भ्रम फैलाउने, सत्यभन्दा असत्यलाई प्रोपोगाण्डा गर्ने र समाजलाई भ्रमित गर्ने प्रयासहरू भइरहेका छन्। यस्तो अवस्थामा नेपाल प्रेस युनियनका साथीहरू अझ बढी सतर्क हुनुपर्ने आवश्यकता छ।"

उनले पत्रकारहरूलाई तथ्यमा आधारित, जिम्मेवार र जनउत्तरदायी पत्रकारितामा केन्द्रित रहन आग्रह गर्दै लोकतन्त्रको रक्षा र जनचेतना अभिवृद्धिमा सञ्चार क्षेत्रको भूमिका अझ प्रभावकारी बन्नुपर्ने बताए।

विशिष्ट राजनीतिक परिस्थितिका कारण संसद् बैठकमा सहभागी हुनुपर्ने भएकाले आफू लामो समय कार्यक्रममा बस्न नसकेको उल्लेख गर्दै उनले सञ्चारकर्मीहरूसँग विस्तृत संवाद गर्ने इच्छा हुँदाहुँदै संसदीय जिम्मेवारीका कारण तत्काल जानुपरेको जानकारी दिएका थिए।

कार्यक्रमको अन्त्यमा आयोजकले नेपाल प्रेस युनियनको ३५ औँ स्थापना दिवस सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सञ्चारकर्मी, प्रतिनिधि तथा सहभागीप्रति धन्यवाद ज्ञापन गरेका थिए। साथै प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र सत्य पत्रकारिताको पक्षमा निरन्तर एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

प्रतिक्रिया