शंखरापुर, काठमाडौं — शंखरापुर नगरपालिका–६, सलम्बुटारमा सञ्चालित द्वन्द्वपीडित तथा अपाङ्ग समाज नेपाल मार्फत युवराज थापाले ५४ जना बालबालिकासहित कर्मचारी तथा अन्य गरी ६४ जनाको संरक्षण, व्यवस्थापन र अभिभावकत्वको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। वि.सं. २०६२/०६३ मा स्थापना भएको संस्थामार्फत थापाले द्वन्द्वपीडित, अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा असहायको संरक्षण र सहयोगका क्षेत्रमा निरन्तर काम गर्दै आउनुभएको हो।
भोजपुरमा जन्मनुभएका थापाको जीवनयात्रा भने सहज रहेन। कक्षा ९ मा अध्ययनरत रहँदा शारीरिक अपाङ्गता भएपछि उहाँले बाल्यकालमै विभिन्न चुनौतीको सामना गर्नुपरेको थियो। करिब तीन वर्ष घरबाट बाहिर रहनुभएका उहाँले सुनसरीको तत्कालीन सिम्जे गाविस–१ मा समेत बसोबास गर्नुभयो।
वि.सं. २०५१ मा एसएलसी परीक्षा उत्तीर्ण गर्नुभएका थापा उच्च शिक्षा अध्ययनका लागि २०५३ मा काठमाडौं आउनुभयो। गौशालास्थित शान्ति सेवा केन्द्रमा बसेर उहाँले अर्थशास्त्र विषयसहित आईए र बीए अध्ययन गर्नुभयो। अध्ययनका क्रममा केही शैक्षिक अवरोध आए पनि उहाँले सामाजिक गतिविधिलाई निरन्तरता दिँदै जानुभयो।
समाजमा रहेका द्वन्द्वपीडित, अपाङ्गता भएका व्यक्ति तथा असहायको संरक्षण र सहयोगका लागि संस्थागत रूपमा काम गर्ने उद्देश्यले उहाँले वि.सं. २०६२/०६३ मा द्वन्द्वपीडित तथा अपाङ्ग समाज नेपाल स्थापना गर्नुभयो। संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता नं. ३६१ तथा समाज कल्याण परिषद्मा दर्ता नं. १८८१२ मा दर्ता रहेको छ।
संस्थामार्फत हाल बालबालिकाको संरक्षण, शिक्षा तथा दैनिक व्यवस्थापनसँगै अपाङ्गता भएका व्यक्ति र असहायका लागि आवश्यक सहयोगका कार्यक्रम सञ्चालन हुँदै आएका छन्। थापाले आफ्नो व्यक्तिगत अनुभवलाई सामाजिक सेवासँग जोड्दै अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन तथा विपद् र समस्यामा परेकालाई सहयोग जुटाउने काममा समेत सक्रियता देखाउँदै आउनुभएको छ।
विभिन्न सामाजिक संघसंस्थाले उहाँको योगदानको कदर गर्दै समय–समयमा सम्मान गरेका छन्। व्यक्तिगत जीवनमा आएका चुनौतीका बाबजुद सामाजिक सेवामा निरन्तर सक्रिय थापाको पछिल्लो परिचय भने ६४ जनाको संरक्षण र व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका सामाजिक अभियन्ताका रूपमा स्थापित भएको छ।