शालीनदी क्षेत्रको पूर्वाधार विकासमा तीव्रता ४ करोडको तटबन्ध निर्माण अघि बढ्दै

lawanyasandesh.com

साँखु काठमाण्डौं। ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वले सम्पन्न शालीनदी क्षेत्रको संरक्षण, सौन्दर्यीकरण तथा पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राख्दै बहुआयामिक पूर्वाधार विकासका योजनाहरू तीव्र रूपमा अगाडि बढाइएका छन्।

शालीनदीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित करोडौँ रुपैयाँका विभिन्न योजनाहरू कार्यान्वयन अन्तिम चरणमा र आगामी बर्षको चार करोडको काम तत्काल  गर्ने लक्ष्य ।




श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिको पहल, स्थानीय सरोकारवालाको सक्रियता तथा विभिन्न सरकारी निकायको सहकार्यमा शालीनदी क्षेत्रको दीर्घकालीन संरक्षण र विकासका लागि महत्त्वपूर्ण परियोजनाहरू एकसाथ सञ्चालन भइरहेका हुन्। समितिले यसअघि श्री माधवनारायणको मूल मन्दिरमा सुनको गजुर प्रतिष्ठापन गरी मन्दिरलाई थप भव्य र पूर्णता प्रदान गरेको थियो। त्यस यता धार्मिक सम्पदा संरक्षण र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै नयाँ योजनाहरू अघि बढाइएको समितिका अध्यक्ष बिकास मान शिंहले जानकारी दिए।


समितिका सचिव बालकृष्ण सिंका अनुसार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति (शहरी विकास मन्त्रालय अन्तर्गत) को आयोजनामा शालीनदी क्षेत्रमा करिब ४ करोड रुपैयाँको लागतमा कलात्मक तटबन्ध निर्माण योजना अघि बढाइएको छ। उक्त योजनाले शालीनदीको प्राकृतिक स्वरूप जोगाउँदै धार्मिक तथा पर्यटकीय आकर्षण थप वृद्धि गर्ने अपेक्षा गरिएको छ।


योजनाअन्तर्गत नदी वारिपारिका खुट्किलाहरूमा कलात्मक ढुङ्गा बिछ्याउने, पैदलमार्ग तथा आवागमनका मार्गहरूमा ढुङ्गा छाप्ने, नदी किनारलाई व्यवस्थित र सुरक्षित बनाउने, धार्मिक पर्यटकलाई आकर्षित गर्ने संरचनाहरू निर्माण गर्ने तथा शंखरापुर नगरपालिका वडा नं. ६ र ७ को सीमाक्षेत्रमा नदीको बहाव नियन्त्रण र कटान रोकथामका लागि ड्याम निर्माण गरिनेछ।


सचिव सिंका अनुसार वर्षायाममा हुने नदी कटान र बाढीजन्य जोखिम न्यूनीकरण गर्दै शालीनदी क्षेत्रको दीर्घकालीन संरक्षणमा उक्त परियोजनाले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। साथै, धार्मिक गतिविधि सञ्चालन हुने क्षेत्रलाई थप सुरक्षित र व्यवस्थित बनाउने लक्ष्यसमेत राखिएको छ।

यसैबीच, धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा रहेको ऐतिहासिक भीमसेन सत्तल (पाटी) निर्माण कार्यले पनि नयाँ गति पाएको छ। करिब छ वर्षदेखि विभिन्न कारणले अधुरो रहेको निर्माण कार्यलाई यस वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित पुनः सञ्चालन गरिएको हो। श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समिति र श्री जनक जानकी सिद्धार्थ धर्मकर्म सेवा संघको संयुक्त पहलमा निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको यस निर्माण कार्यलाई द्रुतगतिमा बढाई रहनु भएका समितिका प्रज्जल मान शिंहले बताए।

शिंहका अनुसार निर्माणका लागि धर्मकर्म सेवा संघबाट २० लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएपछि सत्तल निर्माणले गति लिएको जानकारी दिनुभयो। निर्माण सम्पन्न भएपछि तीर्थयात्री, साधुसन्त तथा भक्तजनलाई विश्राम र धार्मिक गतिविधि सञ्चालनमा थप सहजता हुने अपेक्षा गरिएको छ।

शालीनदी क्षेत्रलाई आधुनिक सुविधासम्पन्न धार्मिक स्थलका रूपमा विकास गर्ने अभियानअन्तर्गत अपाङ्गमैत्री आधुनिक शौचालय निर्माण कार्य समेत द्रुत गतिमा अगाडि बढिरहेको छ।समितिका अध्यक्ष बिकास मान सिंहका अनुसार सबै वर्ग र समुदायका भक्तजन तथा पर्यटकलाई सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले आधुनिक मापदण्डअनुसार शौचालय निर्माण भइरहेको जानकारी दिए।

समिका महासचिव एल.पि श्रेष्ठका अनुसार  चालु आर्थिक वर्षलाई शालीनदी क्षेत्रको पूर्वाधार विकासका दृष्टिले ऐतिहासिक वर्षका रूपमा लिन सकिने बताउँदै एकै समयमा धेरै महत्वपूर्ण योजनाहरू कार्यान्वयनमा रहेको जानकारी दिनुभयो। आगामी दिनमा थप पूर्वाधार विस्तार, सरसफाइ व्यवस्थापन, हरियाली प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासका कार्यक्रमसमेत अघि बढाइने उहाँको भनाई छ।

यसैक्रममा शालीनदी क्षेत्रलाई थप आकर्षक, व्यवस्थित र पर्यटकमैत्री बनाउन माधवनारायण पार्क निर्माणको अवधारणा समेत अगाडि सारिएको छ। धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई समेटेर विकसित गरिने पार्कले भक्तजन तथा आन्तरिक–बाह्य पर्यटकलाई विश्राम, अवलोकन तथा धार्मिक अनुभूतिको नयाँ गन्तव्य प्रदान गर्ने अपेक्षा एक स्थानिय भक्तजन रामेश्वर श्रेष्ठले  गरेका छ्न्।

स्थानीयवासी रामेश्वर श्रेष्ठका अनुसार शालीनदी क्षेत्रमा एकपछि अर्को गर्दै अघि बढिरहेका यी विकास आयोजनाले धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक सम्पदाको संरक्षण, वातावरणीय सन्तुलन कायम राख्न तथा स्थानीय आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्नेछन्।

विशेषगरी प्रत्येक वर्ष लाखौँ श्रद्धालुको सहभागिता रहने श्री स्वस्थानी व्रत तथा माधवनारायण मेलालाई थप व्यवस्थित, सुरक्षित, सुविधासम्पन्न र आकर्षक बनाउन यी योजनाहरू कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ। धार्मिक आस्था, सांस्कृतिक सम्पदा र आधुनिक पूर्वाधार विकासको समन्वयमार्फत शालीनदी क्षेत्रलाई देशकै नमुना धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने अभियानले अब मूर्त रूप लिन थालेको स्थानीयवासीहरूको भनाइ छ।

प्रतिक्रिया