साँखु,काठमाडौँ — देशभर मौसममा बदली भई वर्षासँगै बाढी, डुबान र पहिरोको जोखिम बढ्ने देखिएको भन्दै सरकारले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली देखिएको छ। कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको जनाइएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश स्थानमा बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि देशका अधिकांश स्थानमा बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
वर्षासँगै नदी तथा खोलामा जलस्तर बढ्ने, बाढी तथा डुबानको जोखिम रहने र पहाडी क्षेत्रमा पहिरो जान सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। विशेषगरी नदी किनार, खोला आसपासका बस्ती, पहिरो जोखिमयुक्त क्षेत्र र भीरालो स्थानमा बसोबास गर्ने नागरिकलाई सजग रहन भनिएको छ।
यसैगरी हिमपात र वर्षा हुने पूर्वानुमान गरिएका क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण, कृषिमा संलग्न किसान तथा यात्रा गर्ने र यातायात सञ्चालनमा संलग्न सबैलाई सावधानी अपनाएर मात्र गतिविधि सञ्चालन गर्न अनुरोध गरिएको छ।
चैत्र ६ र ७ गते भारी वर्षा तथा हावाहुरीको सम्भावना रहेकाले सरकारले आवश्यक सतर्कता अपनाउन, स्थानीय प्रशासनको निर्देशन पालना गर्न तथा आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहन नागरिकलाई आग्रह गरेको छ।