शंखरापुर,काठमाण्डौं | करिब १२ वर्षअघि सुरु गरिएको कीर्तिपुरको ऐतिहासिक तथा धार्मिक सम्पदा हाथ्वं (हाथु) भैरव पुनःस्थापनाको अभियानले पूर्णता पाएको छ। स्थानीय समुदायको श्रम, श्रद्धा, आर्थिक सहयोग तथा गुँदे दापाः खलःको अग्रसरतामा निर्माण गरिएको करिब १० फिट अग्लो हाथ्वं भैरवको मूर्तिलाई शनिबार विशेष धार्मिक विधिपूर्वक कीर्तिपुर भित्र्याइएको हो।
विशेष पूजा–आराधनापछि धिमे, बाँसुरी, खिँ बाजालगायत परम्परागत सांस्कृतिक बाजागाजासहित भक्तपुरको मध्यपुर थिमी हुँदै ललितपुरको हात्तिबनबाट मूर्तिलाई कीर्तिपुर ल्याइएको थियो। मूर्तिको स्वागत तथा अवलोकनका लागि ठूलो संख्यामा स्थानीयवासी र भक्तजनको उपस्थिति रहेको थियो।
गुँदे दापाः खलःका अध्यक्ष अशोक महर्जनले मूर्ति निर्माणमा योगदान दिने कालीगढ तथा कलाकारहरूलाई सम्मान गर्दै यो अभियान कीर्तिपुरको सांस्कृतिक पुनर्जागरणको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।
हाथ्वं भैरवको मूर्ति मध्यपुर थिमीका कुशल मूर्तिकार गणेशकुमार प्रजापतिले निर्माण गर्नुभएको हो भने यसलाई अन्तिम रूप दिन धुलिखेलका मूर्तिकार दिनानाथ घोलीले महत्वपूर्ण योगदान दिनुभएको छ। करिब दुई वर्षको निरन्तर मेहनतपछि मूर्तिले पूर्णता पाएको हो।
हाथ्वं भैरव पुनःस्थापनाको अवधारणा वि.सं. २०७० सालमा बाघभैरवको मूर्ति जीर्णोद्धारका क्रममा फेला परेको प्राचीन ताम्रपत्र अभिलेखपछि अघि बढाइएको थियो। अभिलेखमा उल्लेखित ऐतिहासिक परम्पराअनुसार हाथ्वं भैरवको मूर्ति निर्माण गर्ने र जात्रामा प्रदर्शन गर्ने अभियान त्यसयता निरन्तर सञ्चालन हुँदै आएको थियो।
अबदेखि प्रत्येक वर्ष भाद्र १ गते सिंहसंक्रान्तिका अवसरमा आयोजना हुने ऐतिहासिक बाघभैरव जात्रामा स्वर्ण शक्तिभैरवसँगै हाथ्वं भैरवको मूर्ति पनि विशेष रूपमा प्रदर्शन गरिनेछ। साथै वर्षौँदेखि रोकिएको हाथ्वं भैरवको मुखबाट ‘थ्वँ हायेकेगु’ अर्थात् प्रसाद वितरण गर्ने परम्परा पनि पुनः सञ्चालन हुने भएको छ। जात्राका अवसरमा समयबजीसहित थ्वँ प्रसाद वितरण गरिने आयोजकले जनाएको छ।
यस अभियानलाई सफल बनाउन बाघभैरव मूर्ति जीर्णोद्धार समितिका अध्यक्ष शुद्धरत्न महर्जन, रामप्रसाद महर्जन, रत्नकुमार महर्जन, शिव महर्जनलगायत स्थानीयवासी, विभिन्न दाताहरू तथा भक्तजनहरूको महत्वपूर्ण योगदान रहेको जनाइएको छ। स्थानीयस्तरबाट चन्दा संकलन, श्रमदान तथा तामाका पुराना भाडाकुँडा संकलनमार्फत मूर्ति निर्माण सम्पन्न भएको हो।
गुँदे दापाः खलःले सार्वजनिक गरेको आय–व्यय विवरणअनुसार नगद चन्दा, ब्याज, भक्तजनबाट चढाइएको रकम तथा अन्य स्रोतबाट गरी २४ लाख ४२ हजार ६१ रुपैयाँ ४२ पैसा संकलन भएको छ। उक्त रकमबाट मूर्ति ढलाइ, तामा थप, बुट्टा कुँदाइ, गरगहना निर्माण, रंगरोगन, ढुवानी तथा अन्य निर्माण कार्य सम्पन्न गरिएको छ। हाल बैंकमा २ लाख ८५ हजार ९४५ रुपैयाँ ४२ पैसा र नगद २४ हजार ९५ रुपैयाँ मौज्दात रहेको विवरण सार्वजनिक गरिएको छ।
यसैबीच प्रत्येक वर्ष बाघभैरव जात्रामा ८४ पाथी चामलबाट तयार गरिने थ्वँ र समयबजी प्रसाद वितरणलाई दीगो बनाउन १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने योजना पनि सार्वजनिक गरिएको छ। उक्त कोषको ब्याजबाट जात्रा सञ्चालन र प्रसाद वितरणलाई निरन्तरता दिइने जनाइएको छ।
यद्यपि केही काम अझै बाँकी रहेको आयोजकले जनाएको छ। हाथ्वं भैरवको गरगहनामा चार तोला सुनको जलप लगाउनुपर्ने, मूर्ति राख्ने परम्परागत झ्याल निर्माण गर्नुपर्ने तथा द्वारपालका रूपमा रहने खिचा (कुकुर) को मूर्ति निर्माण गर्न थप आर्थिक सहयोग आवश्यक रहेको बताइएको छ।
गुँदे दापाः खलःले इच्छुक भक्तजन तथा दाताहरूलाई यस पुण्य कार्यमा सहयोग गर्न आग्रह गर्दै स्थानीयको सामूहिक प्रयासबाट पुनर्जीवित भएको हाथ्वं भैरव अब कीर्तिपुरको धार्मिक आस्था, सांस्कृतिक पहिचान र ऐतिहासिक सम्पदाको जीवन्त प्रतीकका रूपमा स्थापित भएको जनाएको छ। यससँगै बाघभैरव जात्राको ऐतिहासिक गौरव थप समृद्ध हुने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।