शंखरापुर,काठमाण्डौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ। प्रारम्भिक विवरणअनुसार सभापति पदमा तीन जनासहित वरिष्ठ उपसभापति, महिला उपसभापति, खुला तथा समावेशी उपसभापति र महामन्त्रीका विभिन्न पदमा उम्मेदवारी परेको छ।
सभापति पदमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराएका छन्।
वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ भने महिला उपसभापति पदमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ।
खुला उपसभापति पदमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले उम्मेदवारी दिएका छन्।
त्यसैगरी, समावेशी उपसभापति पदमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मनसुर, सीता गुरुङ र रञ्जित कर्णको उम्मेदवारी परेको छ।
खुला महामन्त्री पदमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनील शर्मा र डा. सन्तोष उपाध्यायले उम्मेदवारी दिएका छन्।
महिला महामन्त्री पदमा भने डा. डिला संग्रौला, डिना उपाध्याय र रीता खनालले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन समितिका सदस्यसचिव राजु कटवालका अनुसार अन्य पदमा परेको उम्मेदवारीको विवरण संकलन गर्ने कार्य भइरहेको छ। उम्मेदवारीको पूर्ण विवरण संकलन भएपछि मात्रै सबै पदको अन्तिम संख्या सार्वजनिक गरिने जनाइएको छ।
कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्वका विभिन्न तहमा देखिएको प्रतिस्पर्धाले आगामी नेतृत्व चयनलाई थप रोचक बनाएको छ।