स्वास्थ्य उपचारपछि देउवा सक्रिय राजनीतिमा फर्किए, राष्ट्रिय एकता र कांग्रेस एकतामा जोड

lawanyasandesh.com

शंखरापुर,काठमाण्डौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झण्डै साढे पाँच महिनाको स्वास्थ्य उपचारपछि बिहीबार स्वदेश फर्किनुभएको छ। स्वदेश फर्किएलगत्तै उहाँले राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, राजनीतिक सहकार्य तथा नेपाली कांग्रेसभित्रको एकतामा जोड दिँदै आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताउनुभएको छ।


काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो करिब साढे १२ बजे अवतरण गर्नुभएका देउवालाई स्वागत गर्न कांग्रेसका नेता–कार्यकर्ता विमानस्थल पुगेका थिए। विमानस्थलबाट समर्थक तथा प्रहरीको स्कर्टिङबीच बाहिरिने क्रममा उहाँले गाडीको ‘सनरुफ’बाट निस्किएर स्वागतका लागि उपस्थित समर्थकलाई अभिवादन गर्नुभएको थियो। त्यसबेला वर्षा भइरहेको थियो।


स्वदेश फर्किएपछि जारी गर्नुभएको सन्देशमा देउवाले लामो स्वास्थ्य उपचारका क्रममा आफ्नो स्वास्थ्यप्रति चासो, चिन्ता र शीघ्र स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले आफू विनम्र सेवकका रूपमा मुलुक र जनताको सेवामा पुनः समर्पित हुन फर्किएको बताउनुभएको छ।


उहाँले नेपाली कांग्रेसलाई एउटा राजनीतिक दल मात्र नभई दशकौँ लामो लोकतान्त्रिक संघर्ष, त्याग र बलिदानबाट स्थापित ऐतिहासिक संस्था भएको उल्लेख गर्नुभएको छ। कांग्रेसको राजनीतिक यात्रामा सहभागी हुन पाएकोमा आफूलाई गौरव लागेको बताउँदै उहाँले पार्टीको विरासतलाई गौरवको पदकका रूपमा मात्र नभई जनताले सुम्पिएको जिम्मेवारीका रूपमा ग्रहण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।


देउवाले बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायत अग्रज नेताहरूको योगदान स्मरण गर्दै लोकतन्त्र र नागरिक अधिकारका लागि विगतका पुस्ताले गरेको संघर्षलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ।


परिवर्तनको आकांक्षा सम्बोधन गर्न सरकारलाई आग्रह

पछिल्लो समय मुलुकमा देखिएको परिवर्तनको आकांक्षालाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्नेमा देउवाले जोड दिनुभएको छ। ताजा जनमतबाट उदाएको सत्तारुढ शक्तिले जनताको मत, अपेक्षा र आकांक्षालाई सम्मान गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ छ।


युवा पुस्ताको मौन पीडा र प्रखर आवाज दुवै आफूले सुनेको उल्लेख गर्दै देउवाले नेपाली कांग्रेसले युवाले माग गरेको परिवर्तनलाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ। उहाँले गत भदौमा भएको जेनजी आन्दोलनका जायज मागप्रति आफूले त्यतिबेलै सकारात्मक धारणा राखेको स्मरणसमेत गर्नुभएको छ।

परिवर्तनको अर्थ विगतका पुस्ताले गरेको त्याग, बलिदान र संघर्षलाई अस्वीकार गर्नु नभएको उहाँले स्पष्ट पार्नुभएको छ। लोकतन्त्र, स्वतन्त्रता तथा विभिन्न जातजाति, क्षेत्र र समुदायका अधिकारका लागि अघिल्लो पुस्ताले गरेको संघर्षलाई नकारात्मक भाष्यका रूपमा प्रस्तुत गर्न नहुने उहाँको भनाइ छ।

विश्व तीव्र गतिमा परिवर्तन भइरहेको अवस्थामा नेपाली समाज र राजनीति पनि समयको गतिसँगै अघि बढ्नुपर्ने उल्लेख गर्दै उहाँले युवालाई नेतृत्व र अवसर दिनुपर्ने बताउनुभएको छ। तर पाका तथा अनुभवी सबै खराब हुन् भन्ने गलत भाष्य निर्माण गर्न नहुनेमा पनि उहाँले सचेत गराउनुभएको छ।


सामाजिक सञ्जालमा आउने क्षणिक लोकप्रियता वा ‘भ्युज’को पछाडि लागेर कांग्रेसको ऐतिहासिक दायित्व र राजनीतिक अनुभवलाई बिर्सन नहुने उहाँको आग्रह छ।

कांग्रेसभित्रको असहमति अन्त्य गर्न आग्रह

देउवाले नेपाली कांग्रेसभित्र देखिएको असहमति र निराशालाई तत्काल सम्बोधन गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताउनुभएको छ। कांग्रेसले अन्य राजनीतिक दलसँग सहमति र सहकार्य गर्दै राष्ट्रियता तथा लोकतन्त्रलाई सुदृढ बनाउनुपर्ने उहाँको धारणा छ।

संसदमा काङ्ग्रेसको अंकगणितीय अवस्था सानो–ठूलो हुन सक्ने भए पनि २००७ सालदेखि मुलुकमा भएका महत्वपूर्ण राजनीतिक परिवर्तनमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उहाँले स्मरण गर्नुभएको छ।


पार्टीभित्रको विवादले मुलुकको राष्ट्रियतालाई समेत कमजोर बनाउन सक्ने उल्लेख गर्दै देउवाले नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक तथा मतदातालाई व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर सामूहिक भावनाका साथ अघि बढ्न आह्वान गर्नुभएको छ।

‘नेपाली कांग्रेस कसैको इगोमा होइन, जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ’ भन्ने धारणा व्यक्त गर्दै उहाँले पार्टीको एकता र जनविश्वासलाई सर्वोच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ।

संविधान संरक्षण र संशोधनमा राष्ट्रिय सहमति

देउवाले वर्तमान संविधान लामो संघर्ष र बलिदानबाट प्राप्त भएको उल्लेख गर्दै यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभएको छ। संविधान संशोधन आवश्यक भए राष्ट्रिय सहमति र लोकतान्त्रिक प्रक्रियाका आधारमा गर्नुपर्ने उहाँको धारणा छ।

उहाँले कांग्रेस आत्मसमीक्षा र मार्गसुधारका लागि प्रतिबद्ध रहेको बताउँदै पार्टी वा राजनीतिक यात्रामा कतै विचलन भए सुधार गर्ने र गल्ती भए पुनः उठेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

‘हाम्रो यात्रा निरन्तर सुधारको यात्रा हुनेछ’ भन्ने धारणा राख्दै उहाँले तराईदेखि हिमालसम्मका नागरिकका सुझाव, अपेक्षा र आकांक्षालाई पार्टीको मार्गदर्शनका रूपमा लिनुपर्ने बताउनुभएको छ।

‘विभाजन र विद्वेषका घाउ निको पारौँ’

देउवाले राष्ट्रिय एकता सुदृढ गर्न सर्वपक्षीय सहकार्य आवश्यक रहेको बताउनुभएको छ। विगतका विभाजन र विद्वेषका घाउ निको पार्दै प्रतिशोधको सट्टा मेलमिलापको बाटो रोज्न उहाँले सबै राजनीतिक शक्ति तथा नागरिकसँग आग्रह गर्नुभएको छ।

२०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किएको प्रसंग स्मरण गर्दै उहाँले त्यसबेला राष्ट्रवादी तथा प्रजातान्त्रिक शक्तिहरूबीच एकताको आवश्यकता औँल्याइएको र अहिले पनि राष्ट्रिय एकता मजबुत बनाउने समय आएको बताउनुभएको छ।

उहाँले राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि सबै राजनीतिक शक्तिबीच संवाद, सहमति र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएको छ।

‘सत्ताभन्दा जनताको मन महत्वपूर्ण’

देउवाले लोकतन्त्रमा सत्ता अस्थायी हुने तर जनताको मन बुझ्ने र जित्ने नेतृत्व मात्र दीर्घकालसम्म स्मरणीय हुने धारणा व्यक्त गर्नुभएको छ।

सार्वजनिक जीवनमा पदमा रहेर काम गर्दा आलोचना र प्रत्यालोचना स्वाभाविक भएको उल्लेख गर्दै उहाँले आफ्नो राजनीतिक जीवन राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, नागरिक, संविधान, कानुन तथा नैतिक मूल्य–मान्यताप्रति समर्पित रहेको बताउनुभएको छ।

आफूसँग राजनीतिक रूपमा लिनुपर्ने केही नरहे पनि आफ्नो लामो राजनीतिक अनुभव मुलुक र पार्टीका लागि उपयोगी हुन सक्ने उहाँको भनाइ छ। विगतमा माओवादी सशस्त्र द्वन्द्वदेखि कांग्रेसभित्रका विभिन्न विवाद तथा जटिल राजनीतिक परिस्थितिमा आफूले प्राप्त गरेको अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नु आफ्नो दायित्व भएको उहाँले बताउनुभएको छ।

युवालाई अघि बढाउँदै अनुभवी पुस्ताको ज्ञान र अनुभवलाई समेत उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।

‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

देउवाले आफ्नो बाँकी राजनीतिक जीवनलाई राष्ट्र र जनताको सर्वोत्तम हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

“म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ,” उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ।

उहाँले प्रत्येक बालबालिकाले निर्भीक भएर सपना देख्न सक्ने, ज्येष्ठ नागरिकले सम्मानपूर्वक जीवन बिताउन सक्ने र हरेक समुदायले समान अवसर तथा समृद्धिको बाटोमा अघि बढ्न सक्ने नेपाल निर्माण गर्नुपर्ने बताउनुभएको छ।

आफ्नो जीवन खुला किताब भएको उल्लेख गर्दै देउवाले जीवन रहुञ्जेल राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तम हित तथा संविधान, कानुन र नैतिक मूल्य–मान्यताअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

“म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको हुँ– विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर छु,” उहाँले सन्देशमा भन्नुभएको छ।



प्रतिक्रिया