शंखरापुर (साँखु), काठमाण्डौं। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा मंगलबार बिहान दुईवटा हेलिकोप्टर आपसमा ठोक्किएर दुर्घटना भएका छन्। दुर्घटनामा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
मंगलबार (कात्तिक १७) बिहान फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएका हुन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएका छन्। घटनाबारे थप विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार प्रारम्भिक जानकारीमा अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा आपसमा ठोक्किएको पाइएको छ। दुर्घटनाको वास्तविक कारण र क्षतिको विस्तृत विवरणबारे थप बुझ्ने काम भइरहेको उनले बताएका छन्।