अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

lawanyasandesh.com

शंखरापुर, काठमाडौं, २३ असार। सहआयोजक अमेरिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै बेल्जियम फिफा विश्वकप–२०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार बिहान सियाटल स्टेडियममा सम्पन्न प्रि–क्वार्टरफाइनल खेलमा बेल्जियमले प्रभावकारी प्रदर्शन गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।

बेल्जियमको जितमा चार्ल्स डे केटलेरले दुई गोल गरे भने हान्स भानकेन र रोमेलु लुकाकुले समान एक–एक गोल थपे। अमेरिकाका लागि मलिक टिलम्यानले एकमात्र गोल गरे।

खेलको नवौँ मिनेटमा डे केटलेरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। ३१औँ मिनेटमा टिलम्यानले फ्रिकिकमार्फत गोल गर्दै अमेरिकालाई बराबरीमा फर्काए। तर त्यसको दुई मिनेटपछि नै डे केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए।

दोस्रो हाफमा पनि बेल्जियमले खेलमाथि नियन्त्रण कायम राख्यो। ५७औँ मिनेटमा भानकेनले गोल गर्दै अग्रता ३–१ मा पुर्‍याए। त्यसपछि इन्जुरी समयमा लुकाकुले थप एक गोल गरेपछि बेल्जियम ४–१ को विजेता बन्यो।

खेलमा अमेरिकाले ५६ प्रतिशत बल नियन्त्रण गरे पनि त्यसलाई प्रभावकारी रूपमा उपयोग गर्न सकेन। बेल्जियमले लक्ष्यमा सात प्रहार गर्दा अमेरिकाले दुई प्रहार मात्र गर्न सफल भयो। कर्नरमा बेल्जियम ५–३ ले अगाडि रह्यो। अनुशासनतर्फ अमेरिकाका वेस्टन म्याकेनी र मलिक टिलम्यानले पहेँलो कार्ड पाए भने बेल्जियमका कुनै खेलाडी कार्डबाट दण्डित भएनन्।

उत्कृष्ट प्रदर्शन गरेका बेल्जियमका चार्ल्स डे केटलेर खेलको उत्कृष्ट खेलाडी घोषित भए। खेलपछि बेल्जियमका प्रशिक्षकले टोलीले योजनाअनुसार खेल्दै अवसरको सदुपयोग गरेको प्रतिक्रिया दिए। अमेरिकाका प्रशिक्षक मौरिसियो पोचेटिनोले भने आफ्नो टोलीले निर्णायक क्षणमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको स्वीकार गर्दै बेल्जियमलाई जितको बधाई दिए।

यस जितसँगै बेल्जियम आठ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो। सन् २०१८ को विश्वकपमा तेस्रो बनेको बेल्जियम २०२२ को संस्करणमा समूह चरणबाटै बाहिरिएको थियो। उता, २४ वर्षपछि क्वार्टरफाइनल पुग्ने अमेरिकाको लक्ष्य भने यसपटक पनि पूरा हुन सकेन।

अब बेल्जियमले सेमिफाइनल प्रवेशका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। दुवै टोलीबीचको क्वार्टरफाइनल खेल असार २७ गते शनिबार बिहान १२:४५ बजे (नेपाल समयअनुसार) हुनेछ।

प्रतिक्रिया