धार्मिक सहिष्णुता र ऐतिहासिक वैभवको महाकुम्भ: साँखुमा श्री श्री श्री बज्रयोगिनी माताको तरवार ल्याएसंगै जात्रा शुभारम्भ

lawanyasandesh.com

साँखु (शंखरापुर), काठमाडौँ ।
काठमाडौँ उपत्यकाको उत्तर–पूर्वी कुनामा अवस्थित प्राचीन ऐतिहासिक नगर साँखु यतिबेला श्रद्धा, भक्ति र सामुदायिक एकताको अनुपम वातावरणले गुन्जायमान बनेको छ। हिन्दु तथा बौद्ध तथा तिब्बतीयनहरुले समेत Dorje Naljorma (डोरजे नालजोर्मा)भनेर पुज्ने बहु धर्मावलम्बीहरूको साझा आस्थाकी केन्द्र श्री श्री श्री बज्रयोगिनी (म्हासुख्वामाजु) माताको ऐतिहासिक जात्रा आजबाट विधिवत् रूपमा शुभारम्भ भएसँगै शंखरापुर नगर क्षेत्र सांस्कृतिक पुनर्जागरणको रौनकले झलमल्ल बनेको हो।



यो जात्रा केवल धार्मिक अनुष्ठान मात्र नभई शताब्दीऔँदेखि कायम रहेको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आत्मीयता र नेपाली भाइचाराको जीवन्त उदाहरणका रूपमा परिचित छ। विभिन्न जातजाति, भाषा र समुदायका श्रद्धालुहरू एउटै आस्थाको छातामुनि भेला हुने यस पर्वले साँखुको पहिचानलाई राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा समेत उजागर गर्दै आएको छ।



इतिहासको पदचाप र कलिगत संवत्‌को विरासत
वंशावली परम्परा अनुसार कलिगत संवत् १८०१ मा तान्त्रिक गुरु जोगदेव बज्राचार्यले माता बज्रयोगिनीको दिव्य आदेश पाएपछि साँखु नगर स्थापना गरी जात्रा सञ्चालन गरेको मानिन्छ। झण्डै तीनहजार वर्षभन्दा लामो इतिहास बोकेको यस जात्राले राजनीतिक उतारचढाव, प्राकृतिक विपत्ति तथा महामारीजस्ता चुनौतीबीच पनि निरन्तरता कायम राख्दै आएको छ।


यस वर्ष चैत्र १६ गते द्वादशीका दिन राजकीय सत्ताको प्रतीक मानिने ‘राजतरवार’ विधिवत् रूपमा भित्र्याएसँगै जात्राको औपचारिक प्रारम्भ भएको हो। जात्रा व्यवस्थापन समितिका अध्यक्ष सरोज श्रेष्ठका अनुसार यस वर्ष पुखुलाक्षी टोलका प्रबिण श्रेष्ठले राजतरवार समात्ने अवसर पाएका छन्, जसले जात्राको ऐतिहासिक र राजकीय परम्परालाई निरन्तरता दिएको छ।



धार्मिक समन्वयको अनुपम संगम
बज्रयोगिनी जात्राको सबैभन्दा महत्वपूर्ण पक्ष यसको बहुधार्मिक स्वरूप हो। बौद्ध परम्पराका बज्राचार्य पुजारीहरूले पूजाविधि सम्पन्न गर्ने परम्परा रहे पनि हिन्दु धर्मावलम्बीहरूले शक्तिको सर्वोच्च रूप मानेर माताको आराधना गर्छन्। नेवार, तामाङ, ब्राह्मण, क्षेत्री लगायतका विभिन्न समुदायको सक्रिय सहभागिताले यो जात्रा साझा नेपालीहरुको एक मात्र संस्कृतिको प्रतीक बनेको छ।



स्थानीय बासिन्दाहरूका अनुसार जात्राले धार्मिक सहिष्णुता मात्र होइन, सामाजिक एकता र परम्परागत सहकार्यको भावना पनि बलियो बनाउने गरेको छ। “हाम्रो संस्कृति हाम्रो पहिचान हो। पुर्खाले सुम्पिएको यो अमूल्य सम्पदालाई जोगाउँदै भावी पुस्तासम्म पुर्‍याउनु हाम्रो साझा दायित्व हो,” अध्यक्ष श्रेष्ठले बताए।
जात्राका मुख्य आकर्षण र सांस्कृतिक विधि चैत्र शुक्ल पूर्णिमादेखि सुरु भई ८ रात ९ दिनसम्म चल्ने यस जात्राका विभिन्न चरणहरू विशेष आकर्षणका रूपमा रहेका छन्। गुँबहा (पहाड) स्थित मन्दिरबाट म्हासुख्वा माजु, चिभा द्यो, सिंहिनी र व्याघिनीलाई खटमा राखी बाजागाजासहित साँखु नगर भित्र्याउने परम्पराले जात्राको सुरुआती रौनक बढाउँछ।



जात्राको चौथो दिन बसुन्धरा माजुलाई बज्रयोगिनिबाट नगरमा भित्र्याउने  बितिक्कै ‘मू: जात्रा’ सबैभन्दा भीडभाँड र आकर्षणको केन्द्र मानिन्छ। यस दिन साँखु नगरमा हजारौँ भक्तजनको उपस्थिति रहने गर्दछ। जात्रामा म्हासुख्वामाजु(बज्रयोगिनी),चिभा द्यो(चैत्य),शिंगिनि,ब्याघिनी र बशुन्धरा माजु भगावान लान हुने स्थानसम्म लगेर साँखु शहर परिक्रमा गर्दै हर्षोउल्लासका साथ मनाउने गर्दछ भने रङ्गी बिरंङ्गी चतामरी(एक प्रकारको रोटि) आकाशमा चराचुरङ्गी उदेको जस्तो उदाएर विभिन्न बाजागाजा सांस्कृतिक पोशाक सहितको भगवान वरपर जात्रा हेर्न आउनेहरुको तांतिले जात्राको रौनकलाई अझ उन्माद बनाउने गर्दछ।



त्यस्तै लामो समयदेखि ओझेलमा परेको ‘गुर्जु पल्टन’ परम्परालाई पुनर्जीवन दिइएको छ। यसले जात्रामा सैन्य अनुशासन, सांस्कृतिक गौरव र ऐतिहासिक स्मृतिलाई पुनर्जीवित गरेको स्थानीयले बताएका छन्।



जात्राको अन्तिम दिन देवताहरुलाई पुनः मन्दिर लैजाँदा घुमारिचोक–लप्सेका तामाङ समुदायले कोलागालबाट भगवानको खट बोक्ने परम्परा पनि रहेको छ, जसले जातीय सद्भाव र सहअस्तित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्छ।



सामाजिक आत्मीयता र पर्यटन प्रवर्द्धन
जात्राका अवसरमा साँखुका घरघरमा पाहुँनाको ताँती लाग्ने गर्दछ। छोरी–ज्वाइँ, आफन्त साथिभाई र इष्टमित्रलाई निमन्त्रणा गरी भोज खुवाउने परम्पराले सामाजिक सम्बन्धलाई थप मजबुत बनाउँछ।


धुँल्ला,साल्खा, चालाखु,दुगाहिती, सुनटोल ईपाटोल, ईल्लाटोल र पुखुलाक्षि टोलमा दुईवटा टोलहरु मिलि एक टोलमा भगवालाई राख्ने गरि धूँल्ला,चलाखु,सुनतोल तथा पुखुलाक्षि टोलमा भगवान राख्ने ब्यवस्था गरिएको छ भने बर्षै पिच्छे आलोपालो उक्त सत्तलहरुमा भगवान राखी पालो पर्ने टोलहरुले जिम्मेवारी बहन गरि हर्षोउल्लासका साथ जात्रा मनाउने परंपरा रहिआएको छ ।



स्थानीय तह, सुरक्षा निकाय तथा समुदायबीचको सहकार्यमा यस वर्ष जात्रालाई व्यवस्थित र सुरक्षित बनाउन विशेष व्यवस्था गरिएको छ। भूकम्पले क्षति पुर्‍याएको ‘द्यौछें’ पुनर्निर्माणको प्रक्रिया जारी रहे पनि स्थानीयको उत्साह र श्रद्धामा कुनै कमी आएको छैन।



शताब्दीऔँ पुरानो बज्रयोगिनी जात्राले साँखुलाई मात्र होइन, सम्पूर्ण नेपाललाई धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र सामाजिक एकताको उदाहरणका रूपमा चिनाउँदै आएको छ। ढोल–नगाराको ताल, धिमेको गुञ्जन,नेखिं बाजा, कां बाजा तथा “माता बज्रयोगिनीको जय” नाराले साँखुको आकाश गुन्जायमान हुने गर्दछ।  श्रद्धालुहरूको अपार उपस्थितिसँगै साँखु पुनः एकपटक धार्मिक, सांस्कृतिक र ऐतिहासिक वैभवको महाकुम्भमा परिणत हुन गैइरहेको छ भने यश बर्ष पालो पर्ने टोलहरु ईल्लाटोल तथा पुखुलाक्षी टोलका जात्रा ब्यवस्थापन अध्यक्ष सरोज श्रेष्ठले सम्पुर्ण  भक्तजनहरुलाई बिशेष गरेर १९;२२;तथा २६ गते २७ गते बिहान कोलागालमा भगवान खेलाउने हुँदा यी दिनहरुमा जात्रा अवलोकन गर्न आह्वान गरेका छ्न्।

प्रतिक्रिया