अमेरिकी संस्थासँग कान्तिपुर एकेडेमीको सहकार्य, विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रविधि शिक्षाको अवसर

lawanyasandesh.com

साँखु/काठमाडौँ। शिक्षालाई आधुनिक प्रविधि र विश्वबजारसँग जोड्ने उद्देश्यसहित काठमाडौँको कागेश्वरी मनोहरास्थित कान्तिपुर एकेडेमीले अमेरिकाको समिट टेक्नोलोजी एकेडेमीसँग शैक्षिक सहकार्यका लागि औपचारिक सम्झौता गरेको छ। सम्झौतासँगै अब कान्तिपुर एकेडेमीका विद्यार्थीहरूले स्वदेशमै बसेर ‘अमेरिकन टेक्नोलोजी’ र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको डिजिटल सिकाइ तथा सीप विकासको अवसर पाउने भएका छन्।

सम्झौताअनुसार दुवै संस्थाबीच विद्यार्थी आदान–प्रदान, प्राविधिक सहकार्य, संयुक्त तालिम कार्यक्रम तथा शैक्षिक गुणस्तर अभिवृद्धिका क्षेत्रमा सहकार्य गरिने जनाइएको छ। यस सहकार्यले विद्यार्थी र शिक्षकहरूलाई विश्वस्तरीय इन्टर्नसिप, प्रविधिमैत्री सिकाइ र क्षमता अभिवृद्धिको नयाँ ढोका खोल्ने विश्वास गरिएको छ।

सम्झौता कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की, अमेरिकास्थित समिट टेक्नोलोजी एकेडेमीका प्रमुख जेरेमी बोनेसेनलगायत शिक्षा क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले यस सहकार्यले स्थानीय स्तरमै अन्तर्राष्ट्रियस्तरको प्रविधि शिक्षा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।



कान्तिपुर एकेडेमीले विद्यार्थीको उज्ज्वल भविष्यका लागि नवीन प्रविधि, डिजिटल सिकाइ र गुणस्तरीय शिक्षामा केन्द्रित रहने प्रतिबद्धता जनाएको छ। संस्थाले यस्ता अन्तर्राष्ट्रिय साझेदारीमार्फत विश्वस्तरीय अवसरहरू विस्तार गर्दै लैजाने लक्ष्य राखेको पनि जनाएको छ। 

प्रतिक्रिया