साँखु,काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवा सम्बन्धी सम्पत्ति शुद्धीकरण छानबिन तीव्र बनेसँगै उनीहरूमाथि छिट्टै पक्राउ पुर्जी जारी हुन सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ।
गृह मन्त्रालय स्रोतका अनुसार देउवा दम्पतीसँग सम्बन्धित वित्तीय कारोबार, सम्पत्ति विवरण तथा बैंकिङ गतिविधिबारे विस्तृत अनुसन्धान भइरहेको छ। अनुसन्धानको क्रममा आवश्यक प्रमाण सङ्कलन भइरहेको र कानुनी प्रक्रिया पूरा भएपछि अदालतमार्फत पक्राउ पुर्जी जारी गर्ने विकल्प खुला रहेको बताइएको छ।
यसबीच गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवा निवासमा भएको आगजनी घटनापछि सार्वजनिक भएका भिडियो तथा विभिन्न दाबीहरू समेत अनुसन्धानको दायरामा समेटिएको जनाइएको छ। घटनास्थलमा जलेको घरको भागबाट नगद भेटिएको भन्ने दाबीहरूबारे पनि सम्बन्धित निकायले परीक्षण गरिरहेको स्रोतको भनाइ छ।
हाल देउवा दम्पती स्वास्थ्य उपचारको सिलसिलामा विदेशमा रहेको बताइएको छ। उनीहरू स्वदेश फर्किएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढ्न सक्ने र अनुसन्धानको निष्कर्षका आधारमा पक्राउ पुर्जी जारी हुन सक्ने सम्भावना रहेको जनाइएको छ।
यद्यपि सम्बन्धित निकायले औपचारिक रूपमा पक्राउ पुर्जी जारी भएकोबारे आधिकारिक पुष्टि भने सार्वजनिक गरेको छैन। अनुसन्धान जारी रहेकाले थप विवरण आउन बाँकी रहेको बताइएको छ।