पितृ उद्धार, विश्वशान्ति र बाढीपीडित आत्माको चिरशान्तिको कामनासहित श्रीमद्भागवत सप्ताह सम्पन्न

lawanyasandesh.com

शंखरापुर, साँखु । शंखरापुर नगरपालिका–७, धूँल्लाटोल निवासी हाल काठमाण्डौं महानगरपालिका नयाँ बजार म्हेपी घर प्राङ्गणमा गणेशमाया (बा:ला) श्रेष्ठ तथा परिवारको आयोजनामा सम्पूर्ण पितृहरूको उद्धार, विश्वशान्ति तथा भोटेकोशी बाढीमा परी दिवंगत भएका व्यक्तिहरूको आत्माको चिरशान्तिको कामनासहित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ।



असोज २ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको सप्ताहमा श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको थियो। धार्मिक आस्था, श्रद्धा र भक्तिभावका साथ सम्पन्न सप्ताहमा श्रीमद्भागवत महापुराणको कथा श्रवण तथा धार्मिक अनुष्ठान गरिएको थियो।
सप्ताहको मूल कथा वाचन ललितपुर गा:बहालका मूल निवासी तथा हाल तौदहमा बसोबास गर्दै आउनुभएका ब्याकर्णाचार्य,तन्त्रबिद् पुरोहित गजानन्द राजोपाध्यायले गर्नुभएको थियो। उहाँसँगै शंखरापुर साँखुका मूल पुरोहित सुदन राज राजोपाध्याय र राजु राज राजोपाध्यायले धार्मिक विधि तथा अनुष्ठान सम्पन्न गर्नुभएको थियो।




श्रीमद्भागवत महापुराण हिन्दू धार्मिक परम्परामा भगवान् श्रीकृष्णको भक्ति, धर्म, सदाचार र मोक्षमार्गको ज्ञान प्रदान गर्ने महत्वपूर्ण ग्रन्थका रूपमा मानिन्छ। भागवत सप्ताहको माध्यमबाट दिवंगत पितृहरूको सम्झना, आत्माको शान्ति तथा जीवित परिवारजनमा आध्यात्मिक शान्ति र सद्भाव प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।




यसै धार्मिक भावनालाई आत्मसात् गर्दै श्रेष्ठ परिवारले आफ्नो परिवारका पितृहरूको उद्धार तथा पुण्यस्मरणसँगै विश्वमा शान्ति कायम होस् र भोटेकोशी बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण व्यक्तिहरूको आत्माले चिरशान्ति प्राप्त गरोस् भन्ने कामनासहित सप्ताह आयोजना गरेको जनाएको छ।




धार्मिक अनुष्ठानसँगै दिवंगतहरूप्रति श्रद्धाञ्जली र मानवीय संवेदनालाई जोडिएको यस सप्ताहले दुःख र विपत्तिको समयमा धार्मिक आस्था, पारिवारिक श्रद्धा तथा सामाजिक सहानुभूतिको महत्वसमेत स्मरण गराएको छ।



प्रतिक्रिया