रास्वपाको पहिलो महाधिवेशन भव्य रूपमा सुरु, राजनीतिक सहकार्य र सौहार्दको सन्देश

lawanyasandesh.com

शंखरापुर काठमाण्डौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरस्थित गेस्ट हाउस चउरमा भव्य रूपमा सुरु भएको छ। देशभरबाट आएका प्रतिनिधि, कार्यकर्ता तथा विभिन्न दलका शीर्ष नेताहरूको उल्लेख्य उपस्थितिबीच महाधिवेशन उद्घाटन गरिएको हो।


उद्घाटन समारोहमा रास्वपा सभापति रवि लामिछाने र काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह एउटै छाता ओढेर मञ्चतर्फ पुगेका दृश्यले सहभागीहरूको ध्यान आकर्षित गरेको थियो। महाधिवेशनको उद्घाटन परम्परागत दियो बालेर नभई रास्वपाको चुनाव चिह्न ‘घन्टी’ बजाएर गरिएको थियो। बालेन शाहले नेपाली कांग्रेसका नेता गगन थापालगायत अतिथिहरूलाई घन्टी हस्तान्तरण गरेपछि सामूहिक रूपमा घन्टी बजाएर कार्यक्रमको शुभारम्भ गरिएको थियो।


समारोहका क्रममा रवि लामिछाने र गगन थापाबीच भएको आत्मीय अँगालोले राजनीतिक सौहार्द र सहकार्यको सन्देश दिएको भन्दै सहभागीहरूले सकारात्मक टिप्पणी गरेका थिए।


स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले विशिष्ट अतिथि तथा सांसदहरूलाई दुग्ध विकास संस्थान (डीडीसी) को मोहि वितरण गरिएको थियो। यसले उद्घाटन समारोहलाई थप मौलिक र रैथाने स्वादयुक्त बनाएको देखिन्थ्यो।


कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपा र बालेन शाहप्रति विभिन्न राजनीतिक धारका मतदाताको समर्थन रहेको दाबी गरे। उनले देशमा राजसंस्था आवश्यक ठान्ने नागरिकहरूको मतसमेत रास्वपा र बालेनको पक्षमा परेको उल्लेख गर्दै वर्तमान राजनीतिक परिस्थितिबारे टिप्पणी गरे।

रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको भावी नीति, संगठनात्मक दिशा र नेतृत्व चयनका दृष्टिले महत्वपूर्ण मानिएको छ। महाधिवेशनले पार्टीको आगामी राजनीतिक रणनीति तय गर्नुका साथै संगठनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया